राजनीति


मतगणना जारी भएका ४ क्षेत्र, कहाँ के हुँदैछ?

सुनसरी–४ र उदयपुर–१ मा मतगणना सुरु हुँदै
मतगणना जारी भएका ४ क्षेत्र, कहाँ के हुँदैछ?

फाइल।


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ८:२७, काठमाडौँ

प्रतिनिधिसभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १५८ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। निर्वाचन आयोगका अनुसार अब ७ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। 

ती ७ क्षेत्रमध्ये ३ वटा क्षेत्रको मतगणना रोकिएको छ। बाजुरा र स्याङ्जा–२ को मतगणना रोकिएको हो भने दोलखामा आगामी मंसिर १५ गते पुनः मतगणना गर्ने निर्णय आयोगले गरेको छ। 

मतगणना जारी रहेका दुई क्षेत्रमा पनि शनिबार साँझदेखि रोकिएको थियो। परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता नारायण खड्काको क्षेत्र रहेको उदयपुर–१ र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको क्षत्रे सुनसरी–४ मा मतगणना रोकिएको थियो। 

निर्वाचन अधिकृतको कार्यालयहरुका अनुसार यी दुवै ठाउँमा आजबाट मतगणना सुरु हुने भएको छ।  अहिले बिहान ८ बजेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए। यहाँ खड्कालाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन्। मतगणना रोकिँदासम्म  २१ हजार ८३३ मतसहित खड्का अगाडि छन्। दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन्।

सुनसरी–४ मा पनि अहिले सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत अजुर्न अधिकारीले नेपालखबरलाई जानकारी दिए। निर्वाचन आयोगका अनुसार यहाँ मतगणना रोकिँदासम्म कांग्रेसका कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्।

उता, धनुषा क्षेत्र नम्बर ४ मा मतगणना जारी छ। निर्वाचन अधिकृत सुदिप कुमार दंगालका अनुसार अब एउटा मात्र वडाको मत गन्न बाँकी छ। अहिले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३१ हजार १ सय १६ मतसहित अग्रता कायम राखेका छन्।

उनलाई एमाले उम्मेदवार रघुबीर महासेठले पछ्याइरहेका छन्। उनले ३१ हजार २१ मत प्राप्त गरेको दंगालले नेपालखबरलाई बताए। उनीहरुबीचको ९५ मतको अन्तर छ।

सुनसरी–३ मा पनि मतगणना जारी छ। निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार अब यहाँ लगभग १० हजार मत गन्न बाँकी छ। अन्तिम मतपरिणाम अनुसार यहाँ नेकपा एमालेले अग्रता कायम राखेको छ। एमाले उम्मेदवार भगवती चौधरीले ३३ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन्। निर्वाचन अधिकृत पौडेलका अनुसार कांग्रेसका उम्मेदवार विजय गच्छदारले २८ हजार ६ सय ५५ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच ४ हजार ८ सय २४ मतको अन्तर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .