राजनीति


७५ वर्ष पुगे मोदी, भाजपामा लागु होला त उमेरहदको नियम?

७५ वर्ष पुगे मोदी, भाजपामा लागु होला त उमेरहदको नियम?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
असोज १, २०८२ बुधबार ११:२१, काठमाडौँ

एक दशकदेखि भारतीय जनता पार्टी (भाजपा) भित्र एउटा प्रश्न बारम्बार उठिरहन्छ- उमेर ७५ वर्ष पुगेछि नेताहरूले सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ?

यो मुद्दा हरेकपटक वरिष्ठ नेता यो उमेरमा पुग्दा उठ्ने गर्छ।

आज (सेप्टेम्बर १७) प्रधानमन्त्री नरेन्द्र मोदी ७५ वर्ष पुगेका छन्। यसैले उमेरहदका विषयमा फेरि बहस सुरु भएको छ।

बीबीसी हिन्दीले भारतीय राजनीतिलाई नजिकबाट नियाल्ने केही विज्ञहरूसँग कुरा गरेको छ।

भाजपाभित्र यो बहस वास्तवमा सन् २०१४ को आम चुनावअघि सुरु भएको थियो।

वरिष्ठ पत्रकार र द प्रिन्टका राजनीतिक सम्पादक डीके सिंहका अनुसार जब नरेन्द्र मोदीलाई प्रधानमन्त्री पदका लागि विचार गरिँदै थियो, पार्टीका धेरै वरिष्ठ नेता यसमा सन्तुष्ट थिएनन्। 

उनी भन्छन्, ‘लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीजस्ता नेताहरू मोदीको विरुद्धमा थिए। मोदीलाई थाहा थियो- उनीहरूलाई सरकारमा स्थान दिइयो भने आफ्नो स्वतन्त्रतामा असर पर्नेछ। त्यसैले तर्क गरियो- नेताहरूले ७५ वर्षको उमेरपछि सक्रिय राजनीतिबाट अवकाश लिनेछन्।’

तर यो नियम भाजपाले कहिल्यै औपचारिक रूपमा घोषणा गरेन। पार्टीको विधानमा पनि उल्लेख गरिएको छैन।

डीके सिंह थप्छनन्, ‘त्यतिबेला भाजपा नेता तथा प्रवक्ताले पत्रकारहरूलाई यो कुरा 'अफ द रेकर्ड' बताउँथे। एउटा भाष्य सिर्जना गरिएको थियो। औपचारिक रूपमा भने केही पनि भनिएको थिएन।’

यसपछि आडवाणी, जोशी र अन्य वरिष्ठ नेताहरूलाई २०१४ मा ‘मार्गदर्शक मण्डल’मा राखियो। तर यसको बैठक आजसम्म बसेको छैन।

उनका अनुसार, आनन्दीबेन पटेल यो ‘नियम’ औपचारिक रूपमा स्वीकार गर्ने पहिलो व्यक्ति थिइन्। उनले २०१६ मा गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिइन्।

त्यतिबेला उनले भनेकी थिइन्, ‘म पनि नोभेम्बरमा ७५ वर्षको हुनेछु।’

उनले अगाडि भनेकी थिइन्, ‘म सधैँ भाजपाको विचारधारा, सिद्धान्त र अनुशासनबाट प्रेरित छु। मैले आजसम्म तिनलाई पालना गरिरहेकी छु। केही समयदेखि ७५ वर्षभन्दा माथिका नेता र कार्यकर्ताहरूले युवाहरूलाई अवसर दिन स्वेच्छाले आफ्नो पदबाट राजीनामा दिइरहेका छन्। यो एकदमै राम्रो परम्परा हो। म पनि नोभेम्बरमा ७५ वर्ष पुग्नेछु।’

त्यतिबेलाको यो कथनले पार्टीभित्र उमेरको हद स्थापित भएको आभास दियो। यद्यपि, त्यसपछि यो सधैँ पालना गरिएन।

सांकेतिक मात्र कि कडा नियम? 
पत्रकार अदिती फडणीसले लामो समयदेखि भाजपाको राजनीति र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को कामलाई कभर गरिरहेकी छन्। उनलाई लाग्छ- ७५ वर्षको अवकाश उमेर ‘केवल एक संकेत मात्र’ थियो।

उनले भनिन्, ‘भाजपामा निश्चित रूपमा समय समयमा युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने विश्वास छ। तर यो नियम कहिले लागु हुने र कहिले नहुने भन्ने कुरा पूर्णतया राजनीतिक परिस्थितिमा निर्भर गर्छ। २०१४ मा आडवाणी र जोशीलाई किनारा लगाउनु आवश्यक थियो किनभने पार्टी नयाँ अनुहार ल्याउन चाहन्थ्यो।’

वरिष्ठ पत्रकार सुनील गाताडेका अनुसार भाजपाको ७५ वर्षे नियम वास्तवमा  ‘सफ्ट गाइडलाइ’ थियो, कडा प्रावधान थिएन। उनले भने, ‘पार्टीले यसको प्रयोग वरिष्ठ नेताहरूलाई सम्मानपूर्वक किनारा लगाउन गर्‍यो।’

उनले थपे, ‘यद्यपि राजनीतिक बाध्यता हुँदा अपवाद बनाइएका थिए। त्यसैले आज प्रश्न उठिरहेको छ: यो नियम आडवाणी र जोशीजस्ता नेताहरूका लागि मात्र थियो वा यो सबैलाई समान रूपमा लागु हुनुपर्छ?’

जसको उमेरबारे भयो चर्चा 
वास्तवमा नजमा हेप्तुल्ला र कलराज मिश्रा केन्द्रीय मन्त्रिपरिषद्को हिस्सा थिए। उनीहरू पछि राज्यपाल बने। उमेरका कारण यसो भएको अनुमान गरिएको थियो। कर्नाटकको मुख्यमन्त्री पदबाट राजीनामा दिँदा बीएस येदियुरप्पा ७८ वर्षका थिए।

आडवाणी र जोशीजस्तै वरिष्ठ नेता यशवंत सिन्हालाई पनि भाजपामा सक्रिय राजनीतिबाट हटाइएको थियो।

त्यतिबेला उनीहरूले भनेका थिए, प्रधानमन्त्री मोदीले २०१४ मा सत्तामा आएपछि ७५ वर्षभन्दा माथिका सबै नेताहरूलाई ‘ब्रेन डेड‘ घोषणा गरेका थिए।

अर्कातर्फ भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहले हालै पार्टीको विधानमा यस्तो कुनै आवश्यकता नभएको बताएका छन्। 

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ वर्षको उमेरमा अवकाश नलिने पनि बताए। 

शाहले भने, ‘भारतीय जनता पार्टीको विधानमा यो कतै लेखिएको छैन। मोदीजीले यो कार्यकाल पूरा गर्नुहुनेछ र भविष्यमा देशको नेतृत्व गरिरहनुहुनेछ। यसबारे भारतीय जनता पार्टीमा कुनै भ्रम छैन। केवल भ्रम सिर्जना गरिएको छ।’

मोहन भागवतको अभिव्यक्ति चर्चामा  
यस वर्ष जुलाईमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले एउटा अभिव्यक्ति दिएपछि यो बहस फेरि चर्किएको हो। उनले वरिष्ठ आरएसएस नेता मोरोपन्त पिंगलेसँगको अनुभव सुनाए। 

भागवतका अनुसार, जब पिंगलेलाई एक समारोहमा दोसल्ला ओढाएर सम्मान गरियो तब उनले भने, ‘तपाईंले ७५ वर्षको उमेरमा मलाई दोसल्ला दिनुभयो। मलाई बुझेको छु।’

उनले थपे, ‘यसको अर्थ के हो? जब कसैलाई ७५ वर्षको उमेरमा सम्मान गरिन्छ, यसको अर्थ हुन्छ- 'तपाईंको समय सकियो। अब तपाईं अलग हुनुहोस् र हामीलाई काम गर्न दिनुहोस्।’

यस विषयमा अदिति फडणीस भन्छन्, उक्त अभिव्यक्तिअघि २०२४ को लोकसभा चुनावका बेला भाजपा अध्यक्ष जेपी नड्डाले भनेका थिए- आफ्नो पार्टी आरएसएसबिना पनि चुनाव लड्न सक्छ। 

उनी थप्छन्, ‘त्यस समयमा भाजपाका कुनै पनि वरिष्ठ नेताले नड्डाको भनाइको कडा विरोध गरेनन्। भागवतको अभिव्यक्तिलाई यसको सन्दर्भमा हेर्नुपर्छ।’

भागवतको भनाइपछि उनले यस वर्ष ७५ वर्ष पुग्ने प्रधानमन्त्री मोदीलाई संकेत गरिरहेका हुन् कि होइनन् भन्नेबारे छलफल सुरु भयो।

भागवतले पछि आफ्नो भनाइ स्पष्ट पार्दै भने, ‘म प्रधानमन्त्री मोदी वा कुनै अनौपचारिक भाजपा शासनलाई संकेत गरिरहेको छैन।’

संयोगवश मोहन भागवत पनि यस वर्ष ७५ वर्ष पुगेका छन्।

भाजपाभित्रको सोच के छ?
भाजपा प्रवक्ताले यस विषयमा औपचारिक रूपमा टिप्पणी गर्न अस्वीकार गरे। तर केही नेताले नाम नछाप्ने सर्तमा आफ्नो विचार राखेका छन्। 

भाजपाका एक पूर्व सांसदले भने, ‘हालैका चुनावमा ७५ वर्षभन्दा माथिका धेरै व्यक्तिलाई टिकट दिइएको छ, किनभने तिनीहरू पार्टीको लागि उपयोगी छन्। अर्कातर्फ धेरै सदस्यलाई ७५ वर्षभन्दा माथि उमेर भएकाले टिकट दिइएको छैन। आधिकारिक नियम नभएकाले यो सबैलाई समान रूपमा लागू हुँदैन।’

अर्कातर्फ एक युवा नेता भन्छन्, ‘अवकाशको उमेर हुनुपर्छ। यो एक साँचो लोकतान्त्रिक प्रक्रिया हुनेछ किनभने यसले युवाहरूलाई अवसर दिनेछ।’

प्रधानमन्त्रीको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीको मामिला फरक छ। केही राजनीतिज्ञ छन्, जो हिँड्न सक्दैनन्, तैपनि राज्यसभामा जान चाहन्छन्। उनीहरूले युवाहरूलाई मार्गदर्शन गर्न र पार्टीलाई अगाडि बढ्न मद्दत गर्न सक्दैनन् र? उनीहरूलाई आधिकारिक वा संवैधानिक पदहरू धारण गर्न किन आवश्यक छ?’

अब अन्त्य भएको हो त यो बहस?
विज्ञहरू के विश्वास गर्छन् भने यो बहस भाजपाभित्र औपचारिक रूपमा कहिल्यै अस्तित्वमा थिएन।

अदिति फडणीस भन्छिन्, ‘यो प्रश्न कहिल्यै अस्तित्वमा थिएन र कहिल्यै हुने पनि छैन। यो एक नक्कली बहस हो। धेरै भाजपा अधिकारीहरू छन्, जो चाँडै ७५ वर्ष पुग्दै छन्। यो अव्यक्त नियम सधैँ धेरै छनोटका रूपमा लागु गरिएको छ।’

सुनील गाताडे पनि यस्तै विचार राख्छन्।

उनी भन्छन्, ‘यो बहस कहाँबाट आयो? भाजपाभित्र यस्तो बहस कहिल्यै भएन। शीर्ष नेतृत्वले निर्णय गर्‍यो र पार्टीले त्यसको पालना गर्नुपर्‍यो। तर यो नियम शीर्ष नेतृत्वमा कहिल्यै लागु हुँदैन।’

डीके सिंह के विश्वास गर्छन् भने  यो नियम औपचारिक होइन, तर भाजपा र आरएसएसले ऐतिहासिक रूपमा युवा नेताहरूलाई अवसर दिएका छन्।

उनी भन्छन्, ‘यो भाजपामा एक संस्कृति हो। अटल बिहारी वाजपेयीले अरुण जेटली र रविशंकर प्रसादजस्ता युवा नेताहरूलाई पनि अवसर दिए। भाजपाको मानव संसाधन नीति धेरै बलियो छ। यसले निरन्तर नयाँ नेताहरूलाई शीर्षमा ल्याउँछ। संघको पनि उही संस्कृति छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad