राजनीति


एमालेले जोगाउला कर्णालीमा २०७४ को विरासत?

गठबन्धन भए धेरै स्थानमा लाग्न सक्छ धक्का
एमालेले जोगाउला कर्णालीमा २०७४ को विरासत?

फाइल तस्बिर


दिनेश बुढा
भदौ २५, २०७९ शनिबार ८:२, सुर्खेत

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गर्न थालेका छन्। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट दलहरूले नेताहरुको नाम प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार लागि धमाधम सिफारिस गरिरहेका छन्। 

केही जिल्लामा सर्वसम्मत हुँदा कतै विवाद नमिल्दा उम्मेदवार सिफारिसमा समस्या देखिएको छ। हालसम्म जिल्लाबाट आएका अधिकांश सिफारिस केन्द्रमा पठाइएको छ भन केही प्रक्रियामै छन्।

कर्णालीमा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ गरी ३६ निर्वाचन क्षेत्र छन्। सुर्खेत र दैलेखमा प्रतिनिधि सभातर्फ २/२ र प्रदेशतर्फ ४/४ वटा निर्वाचन क्षेत्र छन्। बाँकी जिल्लामा १ प्रतिनिधि र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन्। 

यी निर्वाचन क्षेत्रमा एमालेले प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस गरेको छ। केन्द्रको निर्णय नकुरेर भागबन्डाको टुङ्गो नलाग्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीले पनि धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

हालसम्म कर्णालीमा गठबन्धनबीच भागबन्डाबारे छलफल नै भएको छैन। सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। 

गठबन्धनका पाँच दलले प्रदेश र प्रतिनिधिसभामा कसले कति सिट पाउने भन्ने टुंगो नलाग्दै कर्णाली प्रदेशबाट धमाधम उम्मेदवार सिफारिस गर्न थालेका हुन्।

कर्णालीका १० मध्ये सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन हुने भएको छ। अन्य नौ जिल्लामा मुख्य तीन दलबीच सिट बाँडफाँटमा किचलो देखिएको छ।

कांग्रेसले कर्णालीमा भागबन्डा गर्दा यही स्थानीय तह निर्वाचनको मतलाई आधार बनाउनुपर्ने बताउँदै आएको छ। माओवादी २०७४ को निर्वाचनको अडानमा छ।

२०७४ को निर्वाचनमा माओवादीले प्रतिनिधिसभाका १२ मध्ये ५ र प्रदेशसभाका २४ मध्ये १० सिट जितेको थियो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ शून्य कांग्रेसले प्रदेशसभामा एक मात्रै सिट जितेको थियो। 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहमा प्राप्त मतका आधारमा प्रतिनिधिसभाका १२ मध्ये ७ र प्रदेशसभाका २४ मध्ये १२ सिट आफूहरूले पाउनुपर्ने आधारसहित पार्टी केन्द्रलाई प्रतिवेदन पठाएको कांग्रेसको स्थानीय नेतृत्वले जनाएको छ।

२०७४ मा एमाले र माओवादीले प्रतिनिधिसभाका १२ मध्ये आधा–आधा सिट लगाएका थिए। प्रदेशसभाका २४ मध्ये एमालेले १३ र माओवादी केन्द्रले ११ सिट बाँडेका थिए।

एमालेलाई चुनौती
कर्णालीका सबै जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच भागबन्डा मिलेर चुनावमा गए एमालेलाई विरासत जोगाउन कठिन हुनेछ।

एमालेले सुर्खेत, दैलेख र सल्यानको प्रतिनिधि सभातर्फ गठबन्धन हुँदा पनि जित्न सक्ने आँकलन गरेको छ। अन्य केही जिल्लामा गठबन्धन नभए  एमालेको जित निश्चित भएको तर्क एमाले नेताहरु गर्छन्। 

तर, कर्णालीका सबै जिल्लामा गठबन्धन भए एमालेलाई १२ सिटमा आफ्नो विरासत जोगाउनै मुस्किल छ। तर एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रदेश सभाका २४ मा १४ र प्रतिनिधिसभाको १२ सिटमा ६ सिट जित्ने दाबी गरे।

संघमा कुन दलबाट को–को सिफारिस?

हुम्ला 
एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो। हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि शाही एकल सिफारिस भइसकेका छन्। 

यस्तै, एमालेबाट दल रावल एकल सिफारिस भएका छन्। एमाले केन्द्रीय सदस्य र हुम्ला इन्चार्ज रावल कर्णाली प्रदेशको समाजिक विकास मन्त्री भइसकेका छन्। 

माओवादीबाट प्रतिनिधि सभाका लागि तीनजनाको नाम सिफारिस भएको छ। जसमा कर्णाली प्रदेशका पूर्वपर्यटन मन्त्री छिरिङ्ग डम्डुल लामा (कार्चेन), अकिल बुढा र प्रेमबहादुर शाही छन्।

हुम्लामा एकीकृत समाजवादी कमजोर छ। यदि माओवादी र कांग्रेसबीच गठबन्धन भए मुख्यमन्त्री शाहीले टिकट पाएर जित्ने सम्भावना बलियो छ। 

२०७४ को निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४९१ मतसहित निर्वाचित भएका थिए। 

उनले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका थिए। शाहीले ८ हजार ४४४ र माओवादीका छिमी दोर्ची लामाले २ हजार ८५६ मत पाए।

प्रतिनिधि सभामा स्वतन्त्रबाट जित्ने कर्णालीमा लामा मात्रै थिए। उनले कलम चिन्हबाट चुनाव लडेका थिए। माओवादीले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए। लामा हाल एमालेमा छन्। उनी यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने मुडमा छन्।  

मुगु 
मुगुमा एमालेबाट प्रतिनिधि सभाका लागि पूर्वमन्त्री मोहन बानियाँलाई सर्वसम्मत  सिफारिस गरिएको छ। 

कांग्रेसले सभापति ऐनबहादुर शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। मुगुमा हालसम्म माओवादी र समाजवादीले उम्मेदवार सिफारिस गरेका छैनन्।

यहाँ २०७४ मा प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट एमालेका गोपालबहादुर बमले १३ हजार ३४ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८६१ मत पाएर पराजित भए।  

यदि मुगुमा पनि गठबन्धन भए एमालेको पक्षमा मत कम खस्ने देखिन्छ। गठबन्धन नभए एमाले नै बलियो देखिन्छ।

डोल्पा
कांग्रेस जिल्ला कार्यसमिति डोल्पाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कर्ण बुढालाई एकल उम्मेदवार सिफारिस गरेको छ। 

एमालेबाट कर्णाली प्रदेशसभा सदस्यसमेत रहेकी बदमीकुमारी बोहोराको नाम एकल सिफारिस भएको छ। 

माओवादीले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष मालबहादुर रोकाय, दिलबहादुर विष्ट र वीरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ। 

एकीकृत समाजवादीले पूर्वपर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाको नाम एकल सिफारिस गरेको छ।

२०७४ मा प्रतिनिधि सभातर्फ एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मतसहित विजयी भएका थिए। कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए। 

धनबहादुर अहिले एमाले छाडेर समाजवादीमा छन्। यदि डोल्पामा गठबन्धन भए एमालेलाई चुनाव जित्न चुनौतीपूर्ण छ। अहिले एमालेका प्रभावशाली नेताहरु समाजवादीमा छन्।

जाजरकोट 
जाजरकोटमा पनि उम्मेदवार सिफारिस प्रक्रिया जारी छ। एमाले जाजरकोटबाट प्रतिनिधि सभाका लागि युवा नेता निरज आचार्यको नाम सिफारिस भएको छ। 

कांग्रेसबाट राजीवविक्रम शाह र रामजंग शाहको नाम सिफारिस भएको छ। माओवादीबाट शक्ति बस्नेतको नाम चर्चामा छ। 

माओवादी नेता बस्नेतको गृह जिल्ला जाजरकोट नै हो। बस्नेत २०७४ को निर्वाचनमा ३२ हजार २८१ मतसहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याए।

यसपटक जाजरकोटमा गठबन्धन भए शक्ति बस्नेत नै प्रत्यक्षतर्फ र कांग्रेसका समानुपातिकमा जाने सोचमा रहेको नेताहरु बताउँछन्। जाजरकोटमा एक्ला–एक्लै चुनाव लड्दा पनि एमाले कमजोर छ।

रुकुम पश्चिम 
रुकुममा कांग्रेस जिल्ला कार्यसमितिले प्रतिनिधिसभा प्रत्यक्षतर्फ गोपालजीजङ्ग शाह, प्रेमप्रकाश ओली र यामबहादुर केसीको नाम सिफारिस गरेको छ। 

रुकुम पश्चिम माओवादीको आधार इलाका पनि हो। उसले यहाँ अरु दलले हल्लाउन नसक्ने बताउँदै आएको छ।

माओवादी रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि जनार्दन शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ। 

२०७४ को निर्वाचनमा माओवादी उपमहासचिव एवम वर्तमान अर्थमन्त्री शर्मा ३४ हजार ४०२ मत ल्याएर विजयी भएका थिए। उनीसँग पराजित कांग्रेसका शाहले १५ हजार ६५९ मत पाए।

सल्यान
सल्यानमा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीबाट प्रकाश ज्वालाको नाम सर्वसम्मत भएको छ। कांग्रेसको आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन। माओवादीले पनि सिफारिस गरेको छैन। 

एमालेबाट पोलिटब्युरो सदस्य एवम् कर्णाली प्रदेश सह–इन्चार्ज गुलाबजंग शाहको नाम प्रदेश र प्रतिनिधि सभा दुवैतिर सिफारिस गरेको छ। 

यहाँ २०७४ मा प्रतिनिधि सभातर्फ माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मतसहित निर्वाचित भएका थिए। त्यसबेला कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत ल्याएका थिए। 

कालिकोट 
एमालेले प्रतिनिधि सभातर्फ नगिन्द्र शाही ‘नेश्नल’लाई सर्वसम्मत सिफारिस गरेको छ। उनी एमाले केन्द्रीय कमिटी सदस्य एवम् कालिकोट इन्चार्ज समेत हुन्। 

माओवादी केन्द्रले कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चारजनाको नाम सिफारिस गरेको छ। कांग्रेसले पनि सम्भावित उम्मेदवारहरूको सूची केन्द्रमा पठाएको छ।

यहाँ माओवादी बलियो छ। २०७४ मा प्रतिनिधि सभातर्फ माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत ल्याएर निर्वाचित भए। त्यसबेला कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत पाए।

यसपटकको निर्वाचनमा कर्णालीका मुख्यमन्त्री समेत बनिसकेको माओवादीका महेन्द्रबहादुर शाही पुनः मुख्यमन्त्री बन्ने तयारीका साथ प्रदेशमै आउँने देखिन्छ। 

जुम्ला 
यहाँ माओवादीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ।  प्रत्यक्षतर्फ कर्णालीका पूर्वआन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी, डाक्टर कलबहादुर रोकाया, गोमा गौतम र मनऋषि धितालको नाम सिफारिस गरेको छ। 

यस्तै, एमाले केन्द्रीय सदस्य रतननाथ योगीको नाम जुम्लाबाट प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ। 
तिला गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका योगीलाई पार्टीले एकल उम्मेदवार सिफारिस गरेको हो। 

यहाँबाट अघिल्लो निर्वाचनमा प्रतिनिधि सभातर्फ माओवादीका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मतसहित निर्वाचित भएका थिए। उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई हराएका थिए। शाहीले १४ हजार १४९ मत ल्याएका थिए।

दैलेख 
दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि उम्मेदवारी सिफारिस अन्तिम चरणमा पुर्‍याएका छन्।  एमालेको आधार इलाका दैलेखका २०७४ को निर्वाचनमा प्रदेश र प्रतिनिधि सभामा सबै उसैले जितेको थियो।

एमाले जिल्ला कमिटीको पाँचौँ बैठकले प्रतिनिधिसभा सदस्यका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी सिफारिस गरेको छ।

दैलेखमा प्रत्यक्षतर्फ १ बाट ३ र २ बाट ५ जनालाई सिफारिस गरेको छ। क्षेत्र नम्बर १ बाट रवीन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

क्षेत्र नम्बर २ बाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवारमा सिफारिस भएका छन्।

यस्तै, माओवादी दैलेखले निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनका लागि कर्णबहादुर बस्नेत, ललिता रेग्मी वीरबहादुर शाहीको नाम सिफारिस गरिएको छ। 

क्षेत्र नम्बर २ बाट कृष्णबहादुर गुरुङ, ढकेन्द्र शाही र उमेशकुमार रावतको नाम सिफारिस भएको छ।

यस्तै, कांग्रेसले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ मणिराम रेग्मी, गणेश उपाध्याय, रवीन्द्रराज श्रेष्ठ, खगेन्द्र सुनार र मीना थापाको नाम सिफारिस गरेको छ।

२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ शिवराज जोशी, रंगबहादुर शाही, दिक्पालकुमार शाही, योगेन्द्र पन्त र मधुविक्रम खनालको नाम सिफारिस भएको छ।

एकीकृत समाजवादीले दैलेखले पनि प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर १ बाट अम्मरबहादुर थापा र २ बाट केशरसिंह माझीको नाम सर्वसम्मत सिफारिस गरेको छ। थापा समाजवादीका कर्णाली अध्यक्षसमेत हुन्।

२०७४ को निर्वाचनमा प्रतिनिधि सभामा दुवै एमालेले हात पारेको थियो। १ मा रवीन्द्रराज शर्माले २३ हजार ७७३ मत प्राप्त गरेर विजयी भए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए। ०७४ मा कांग्रेसले राप्रपालाई साथ दिएको थियो। कांग्रेसको जनाधार राम्रै हुँदा पनि राप्रपालाई अघि सारेर ठूलो कमजोरी गरेको भन्दै कार्यकर्ता असन्तुष्ट भएका थिए। 

क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट एमालेका राजबहादुर बुढाले २३ हजार ३२३ मतसहित प्रतिनिधि सभामा निर्वाचित हुँदा कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरे

सुर्खेत 
सुर्खेतमा कंग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ। निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टी उपसभापति पूर्णबहादुर खड्काको नाम सर्वसम्मत सिफारिस भएको छ। 

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पाँचजनाको नाम सिफारिस भएको छ। जसमा हृदयराम थानी, श्याम भारती, टिएन योगी, निरञ्जन केसी र कमलबहादुर खत्री छन्। 

तर, दुई दलको सहमतिअनुसार प्रतिनिधि सभाका दुई सिट र प्रदेश सभाका चार सिटमा दुई सिट तथा माओवादीलाई दुई सिट दिएको स्रोतले जनाएको छ। 

यहाँ समाजवादीलाई गठबन्धनबाट आउट गरिएको छ। स्थानीय तहको निर्वाचनमा पनि माओवादी र कांग्रेसबीच तालमेल हुँदा समाजवादी एक्लै परेको थियो।

एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ध्रुवकुमार शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २ बाट अृमतबहादुर विसी, कुलमणि देवकोटा र तुल्सी कँडलेको नाम सिफारिस भएको छ।

यस्तै, माओवादीले निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’को नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि माओवादीले टुङ्गो लगाउन सकेको छैन। 

कर्णालीको राजधानी सुर्खेतका दुवै क्षेत्रबाट प्रतिनिधि सभामा यसअघि एमालेले जितेको थियो। क्षेत्र नम्बर १ मा एमालेका ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा कांग्रेसका पूर्णबहादुर खड्काले ३३ हजार ३७७ मत ल्याएका थिए।

क्षेत्र नं.२ मा प्रतिनिधि सभातर्फ एमालेका नवराज रावत ३७ हजार ४४७ मत ल्याएर निर्वाचित भए। उनले कांग्रेसका हृदयराम थानीलाई पराजित गरेका थिए। थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .