ad ad

राजनीति


कर्णालीमा पनि माओवादीसँग सन्तुष्ट छैन कांग्रेस, राष्ट्रिय सभामा एमालेलाई भोट!

कर्णालीमा पनि माओवादीसँग सन्तुष्ट छैन कांग्रेस, राष्ट्रिय सभामा एमालेलाई भोट!

राष्ट्रियसभामा कर्णालीबाट विजयी उम्मेदवारहरु : कांग्रेसबाट कृष्णबहादुर रोकाया, समाजवादीबाट सावित्री मल्ल र माओवादीबाट विष्णुबहादुर विक।


दिनेश बुढा
माघ १३, २०८० शनिबार २१:१३, सुर्खेत

गत बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको मतपरिणामपछि सत्ता गठबन्धनका घटकहरूबीच असन्तुष्टि पोखिन थालेका छन्। 

कोसीमा अप्रत्यासिक नतिजा भोगेको गठबन्धन कर्णालीमा पनि रुष्ट देखिएको छ। यसको स्पष्ट संकेत राष्ट्रिय सभाका लागि भएको मतदानमा देखिएको छ। 

कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी भए पनि तीनै जनाले अपेक्षित मत भने पाएको देखिँदैन।  

कर्णालीमा कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णुबहादुर विक विजयी भएका छन्। तर, यहाँ एमालेका उम्मेदवारलाई एमालेकै मतभन्दा ११४ मतभार बढी परेको छ।

कांग्रेसका ६ जनप्रतिनिधिले राष्ट्रिय सभा निर्वाचनमा फ्लोर क्रस गरेका छन्। मतदान गर्ने सबै स्थानीय तहका ६ जना जनप्रतिनिधि रहेको मतदाताहरूले नै बताएका छन्। 

फ्लोर क्रस गर्नेमध्येका एक जना मतदाताले नेपालखबरसँग भने, ‘हामी यो गठबन्धनबाट एक प्रतिशत पनि सन्तुष्ट छैनौं। पार्टी केन्द्रले जनाताले भनेअनुसारको उम्मेदवार कहिल्यै उठाएन। त्यसैले मसहित पाँच जनाले एमालेका उम्मेदवारलाई मतदान गरेका हौँ।’

स्रोतका अनुसार, नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू अहिलेको गठबन्धनबाट असन्तुष्ट भएका हुन्। अधिकांश नेपाली कांग्रेसका जनप्रतिनिधिले नेकपा माओवादी केन्द्रबाट बेलाबेला धोका हुने गरेको बताउँदै आएका छन्।  

कांग्रेसकै जनप्रतिनिधिको फ्लोर क्रसले कोसी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन्। उनले गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। 

यस्तै, कर्णाली पनि एमालेको मत बलियो भएको खण्डमा एमालेकी शाही विजयी हुने सम्भावना देखियो। एमालेबाट महिलातर्फ उम्मेदवार बनेकी विमलाकुमारी शाहीलाई नेपाली कांग्रेसका ६ जनाले मत दिँदा गठबन्धनले अपेक्षित मतभार पाउन सकेन।

शाहीले प्रदेशतर्फ ११ मत अर्थात् ५८३ र स्थानीयतर्फ ४१ अर्थात् ७७९ गरी जम्मा एक हजार ३६२ मतभार प्राप्त गरेकी छन्।

यस्तै, कर्णालीमा गठबन्धनका प्रदेशतर्फ २९ र स्थानीयतर्फ १२१ मत र स्थानीयतर्फ एमालेका ३५ मत र प्रदेशसभातर्फ १० मत थिए।

शाहीलाई प्रदेश सभामा रहेको राप्रपाको एक भोट र स्थानीय तहका ६ जना जनप्रतिनिधिले मतदान गरेको देखिएको छ। 

एमालेका दलित र खुल्लातर्फका उम्मेदवारलाई पनि गठबन्धनबाट एक–एक मत थपिएको छ। 

प्रदेश निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, महिलातर्फ गठबन्धनबाट विजयी सावित्री मल्लले प्रदेशतर्फ २९ मत अर्थात् एक हजार ५३७ र स्थानीयतपर्फ ११५ मत अर्थात् दुई हजार १८५ गरी जम्मा तीन हजार ७२२ मतभार प्राप्त गरेर विजयी भएकी हुन्। 

यस्तै, दलिततर्फ गठबन्धनका विष्णुबहादुर विक निर्वाचित भएका थिए, जसले प्रदेश सभामा २९ मत अर्थात् एक हजार ५३७ र स्थानीयतर्फ १२० मत अर्थात् २ हजार २८० गरी जम्मा ३ हजार ८१७ मतभार प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी एमालेका हिक्मत विकले प्रदेश सभातर्फ ११ मत अर्थात् ५८३ र स्थानीयतर्फ ३६ मत अर्थात् ६८४ गरी जम्मा १ हजार २६७ मतभार प्राप्त गरेका थिए।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत अर्थात् एक हजार ५९० र स्थानीयतर्फ १२० मत अर्थात् २ हजार २८० गरी जम्मा ३ हजार ८७० मतभार प्राप्त गरेर निर्वाचित भएका थिए।

रोकायाका प्रतिद्वन्द्वी एमालेका डिल्लीप्रसाद भट्टले प्रदेश सभा १० मत अर्थात् ५३० र स्थानीयतर्फ ३६ मत अर्थात् ६८४ गरी जम्मा १ हजार २१४ मतभार प्राप्त गरेका छन्।

कांग्रेस जनप्रतिनिधिको फ्लोर क्रसले कर्णालीमा नतिजा नै फरक पार्न नसके पनि गठबन्धनभित्र भुसको आगोझैँ असन्तुष्टि फैलिँदै गएको छनक भने राम्रैसँग देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .