नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली सरकारको नेतृत्व कांग्रेसले लिने समय आएको बताएका छन्।
सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले नेकपा (एमाले) सँग तालमेल गरि सरकार निर्माण गरिएको कर्णालीमा कांग्रेसले सत्ता समाल्नुपर्ने समय आएको बताएका हुन्। ‘कर्णाली प्रदेशमा हामी सत्तामा छौँ। नेकपा (एमाले) र हाम्रो सहकार्यमा सरकार छ’, थापाले भने, ‘संसदीय दलको नेता जीवनबहादुर शाही र अन्य माननीयहरूसँग बसेर छलफल गर्छौँ। एमाले र हामीबीच भएको सहमति गरेका आधारमा हामीले कर्णाली प्रदेशका नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ। हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौँ।’
उनले सरकारको नेतृत्वपछि कर्णाली प्रदेशमा समृद्धिको आधार तयार गर्ने दाबी गरे। ‘सरकार सञ्चालनको जिम्मेवारी पूरा गर्नका लागि विगतका अनुभव र गतिविधिलाई आत्मसात गर्दै अब अझ जिम्मेवार ढंगले अघि कांग्रेस बढ्नुपर्छ,’ उनले भने।
पार्टीभित्र एकता, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको उल्लेख गर्दै सबै मिलेर जनताका पक्षमा काम गर्नुपर्ने उनले सुनाए। नेतृत्व विकास, संगठन सुदृढीकरण र जनताको विश्वास कायम राख्दै कर्णालीको विकास र समृद्धिका लागि कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले पार्टी संगठनलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म सक्रिय रूपमा काम गर्न नेता–कार्यकर्तालाई आग्रह गरे। ‘पार्टीभित्र अनुशासन, जिम्मेवारी र जनतामुखी गतिविधिलाई प्राथमिकता दिनुपर्छ,’ थापाले भने।
नयाँ सदस्यलाई पार्टीमा जोड्दै संगठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। ‘गलत गतिविधि र व्यवहार त्यागेर असल अभ्यास तथा सकारात्मक सोचलाई अनुसरण गर्नुपर्नेछ,’ सभापति थापाले भने, ‘समयअनुसार नयाँ शैली र कार्यपद्धति सिक्दै पार्टीलाई अझ जनतामैत्री बनाउनुपर्छ। जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न सके मात्रै पार्टी बलियो बन्छ।’
Shares

प्रतिक्रिया