राजनीति


धनकुटामा एमाले प्रतिनिधि छनोटमा विवाद

धनकुटामा एमाले प्रतिनिधि छनोटमा विवाद

नेपालखबर
मंसिर १३, २०८२ शनिबार २१:५५, काठमाडौँ

नेकपा (एमाले) जिल्ला कमिटी, धनकुटाले आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा विवाद भएको छ। 

आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छान्ने तयारी चलिरहँदा सहमति खोज्ने प्रयास असफल भएपछि लोकतान्त्रिक विधिबाट निर्वाचन गर्ने निर्णय लिएको थियो। जिल्ला कमिटी अध्यक्ष शिव आङ्गला लिम्बूले प्रेस विज्ञप्ति जारी गरी शनिबार प्रतिनिधि छनोटका क्रममा पार्टीका केही जिम्मेवार नेताको नेतृत्वमा रहेको समूहले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाएका छन्। 

विज्ञप्तिमा शकुन्तला बस्नेत, प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणि पराजुली, प्रदेश कमिटी सदस्य बलदिप राई, जिल्ला कमिटी सदस्य तथा धनकुटा नगरपालिकाका उपमेयर भीमादेवी खनाल अधिकारी, जिल्ला सदस्य प्रविण पोख्रेल, कोशी प्रदेश कमिटी स्थानीय विकास विभाग सचिव निरेन तामाङ, प्रदेश कमिटी वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख मनकुमारी तितुङ्ग, महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्की लगायतले विवाद गरेको जनाएको छ। 

उनीहरूको नेतृत्वमा रहेको समूहले निर्वाचन कार्यालयमा तोडफोड गर्ने, निर्वाचन अधिकृतलाई दबाब दिने, मतपत्र च्यात्ने, जलाउनेजस्ता गतिविधि गरेको अध्यक्ष लिम्बूले आरोप लगाएका छन्। 

त्यसैगरी धनकुटा–७ मतदान केन्द्रमा जबरजस्ती प्रवेश गरी मतपत्र नष्ट गर्ने र धनकुटा–६ का मतदान अधिकृत तथा जिल्ला कमिटी सदस्य तुलसी ढुंगानामाथि हातपातसम्म भएको उनले जनाएका छन्। 

पार्टीभित्र सहमतिमै प्रतिनिधि छनोट गर्न गरिएको प्रयासलाई बेवास्ता गर्दै अराजक प्रकारका हर्कत गर्नु अत्यन्तै निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। जिल्ला कमिटीले यस्ता गतिविधिले पार्टीका सदस्य, समर्थक र शुभेच्छुकको भावना विरुद्ध खेलवाड भएको भन्दै घटनाप्रति आपत्ति जनाएको छ। 

आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित नेताहरूलाई सचेत रहन आग्रहसमेत गरिएको छ। ‘प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो, त्यसलाई अस्वीकार गर्दै अराजकतामूलक कृत्य गर्नु एमाले सदस्यको चरित्र हुनै सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad