प्रविधि


चुनावबारे डिजिटल सञ्जालको ‘भ्रम’ चिर्दै जेनजी

चुनावबारे डिजिटल सञ्जालको ‘भ्रम’ चिर्दै जेनजी

आयुषा ढकाल
फागुन १, २०८२ शुक्रबार १३:३१, काठमाडौँ

झापा-१ का विनय कार्की हिजोआज आफ्नो स्मार्टफोनमा आउने हरेक ‘नोटिफिकेसन’लाई शंकालु नजरले हेर्छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी जति बढ्दो छ, उनको टिकटक र फेसबुक फिडमा उम्मेदवारबारे उत्तिकै दाबी र भिडिओहरू तैरिरहेका हुन्छन्। 

तर, तीमध्ये कुन वास्तविक हुन् र कुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएका ‘डिपफेक’ हुन्? छुट्याउन उनलाई हम्मे-हम्मे पर्छ। ‘अहिलेको निर्वाचन परिवर्तन रोजेकाहरूको निर्वाचन हो,’ विनय भन्छन्, ‘तर सामाजिक सञ्जालमा हामीले जे हेर्‍यौँ, त्यस्तै खालका सूचनाहरू बारम्बार आइरहने एल्गोरिदमले मतदातालाई एउटा साँघुरो घेरामा थुनेर भ्रमित पारिरहेको छ।’

विनय मात्र होइन, प्रविधिमा पोख्त मानिएको जेनजी पुस्ता अहिले सूचनाको महासागरमा सत्यको खोजी गरिरहेको छ। यो पुस्ता आफूलाई परिवर्तनको संवाहक त मान्छ, तर यही पुस्तालाई लक्षित गरी बनाइएका डिपफेक र फेक न्युजले चुनावी निष्पक्षतामा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।

पहिलेको निर्वाचनमा भित्ते लेखन र आमसभाको चर्चा हुन्थ्यो। अहिले माहोल डिजिटल स्पेसमा सरेको छ। तर, डिजिटल साक्षरताको कमीले गर्दा धेरै युवा मतदाता सत्य र भ्रामक सूचनाको चक्रब्यूहमा फसेका छन्। 

झापाका विनयका अनुसार, चुनावमा सोसल मिडियाको प्रभाव यति धेरै छ कि यसले मतदाताको मनोविज्ञान नै बदल्ने सामर्थ्य राख्छ। ‘युवा मतदाताले झुटा समाचार पहिचान गर्ने र त्यसलाई ब्लक गर्ने बानी बसाल्नुपर्छ,’ विनयको सुझाव छ, ‘विश्वासिलो स्रोतलाई मात्र पछ्याउने, मतदानका विषयमा आपसमा संवाद गर्ने र उम्मेदवारलाई सिधै प्रश्न गर्ने आँट नगरेसम्म हामी सुरक्षित हुन सक्दैनौँ।’

पहिलो पटक मतदान गर्न लागेकी जीना यादवको बुझाइमा शिक्षाको प्रमाणपत्र हुनु र राजनीतिक रूपमा साक्षर हुनु दुई फरक कुरा हुन्। उनी भन्छिन्, ‘सहरका साक्षर मतदाताले त गुगल लेन्स वा फ्याक्ट चेकिङ टुल्स प्रयोग गरेर सत्यता जाँच्लान तर ग्रामीण भेगका मानिसहरू नयाँ दल वा व्यक्तिको हावाबाट छिट्टै प्रभावित हुन्छन्।’

राजनीति, उम्मेदवारको विषयमा अचम्मको कुरा त के छ भने डिग्री लिएकाहरू पनि कुनै दल वा व्यक्तिप्रति अन्धभक्त नै भइदिन्छन्। पुरानो होस् कि नयाँ पुस्ता दुवै कतै न कतै तर्कभन्दा बढी भावनाबाट निर्देशित छन्।

प्रचारको ‘एकोहोरो’ धार

निर्वाचनको मुखमा एउटा पक्षलाई देवत्वकरण गर्ने र अर्को पक्षलाई दानवीकरण गर्ने प्रवृत्तिका कारण जेनजी मतदाताहरू कुनै एउटै दलको पछाडि एकोहोरो लाग्ने लहर चलेको जिया राजभण्डारीको अनुभव छ।

‘कुनै सूचना पाइसकेपछि त्यसलाई अरूलाई पठाउनुअघि म निकै सचेत हुन्छु,’ पहिलो पटक मतदान गर्न उत्साही जिया भन्छिन्, ‘पहिले म पनि सामाजिक सञ्जालमा जे देख्यो त्यही पत्याउँथेँ तर साथीहरूसँगको निरन्तर छलफल र गहन सोचाइले अहिले मलाई प्रश्न गर्न सिकाएको छ।’

उनका अनुसार, निर्वाचनको निष्पक्षता उम्मेदवारको रणनीति र जनताको तार्किक निर्णयमा निर्भर हुन्छ। एउटै पक्षको मात्र सकारात्मक कुरा र अर्को पक्षको नकारात्मक कुरा मात्र आउने ‘फिल्टर बबल’बाट बाहिर निस्कन युवाहरू सचेत हुन जरुरी छ।

आशाको त्यान्द्रो

यति धेरै डिजिटल चुनौतीका बाबजुद युवामा एउटा उत्साह भने कायम छ। विनय कार्की भन्छन्, ‘आम मान्छेलाई भेटेर संवाद गर्ने कुराले नै निर्वाचनलाई सही ठाउँमा पुर्‍याउँछ। प्रविधिले गुमराह गर्ने सम्भावना छ तर त्यसलाई ट्याकल गर्ने भनेको हाम्रो सचेतनाले नै हो।’

युवा उम्मेदवारको नीति र नेतृत्व क्षमताका विषयमा गल्ली र क्याफेहरूमा बहस सुनिन्छन्। डिजिटल सञ्जालबाटै सचेतना फैलाउन सके निष्पक्ष निर्वाचन सम्भव हुनेमा उनीहरू आशावादी देखिन्छन्। फागुन २१ को निर्वाचन केवल प्रतिनिधि छान्ने माध्यम मात्र होइन, बरु यो जेनजी पुस्ताका लागि डिजिटल भ्रम र वास्तविक लोकतन्त्र बीचको लडाइँ पनि हो।

जियाको शब्दमा ‘एउटा क्लिकले भ्रम फैलाउन सक्छ भने एउटा प्रश्नले सत्यलाई स्थापित गर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad