समाज


प्रधानमन्त्री ओलीले भनेः पर्सि खोप आउँछ, तर पहिलो खेप खोप लिने जहाज नै २४ गते चीन जाँदैछ

प्रधानमन्त्री ओलीले भनेः पर्सि खोप आउँछ, तर पहिलो खेप खोप लिने जहाज नै २४ गते चीन जाँदैछ

यज्ञराज जोशी
असार १८, २०७८ शुक्रबार १९:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा कोरोना बिरुद्धाको खोेप पर्सिदेखि चाहिनेजति मात्रामा आउने दावी गरे।  

‘अब भ्याक्सिनको समस्या छैन। पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ। भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो,’ बैठकमा प्रधानमन्त्री ओलीको जिकिर थियो। 

प्रधानमन्त्री ओलीलेले पर्सि खोप आउने भने पनि असार २४ गतेमात्रै चीनमा नेपाल एयरलाइन्सको जहाज १० लाख डोज खोप लिन चीन जाने भएको छ।  नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रसाद पौडेलले जुलाई ८ अर्थात् असार २४ गते जाने तयारी भएको बताए। 

‘अहिले हामीलाई जुलाई ८ तारिखमा जानको लागि तयारी गर्नु भनेको छ’, महाप्रबन्धक पौडेलले नेपालखबरसँग भने, ‘कति डोज खोप ल्याउने भन्ने अहिले भनेको छैन। अहिले १० लाख हाराहारीको लागि तयारी गर्नु भनेको छ।’ 
२ करोड १६ लाख नेपालीले खोप लगाउनुपर्नेमा अहिलेसम्म २६ लाख ४ हजारले पहिलो मात्रा र ७ लाख ५७ हजारले दोस्रोमात्रा खोप लगाएका छन्। साता दिनपछि खोप लिन चीन जाने जहाजले जम्मा १० लाख डोज बोकेर आउँछ। अरु मुलुकबाट खोप अहिले नै आइहाल्ने देखिदैन।

यसकारण प्रधानमन्त्री ओली भनेझैं पर्सि नै चाहिने जति खोप आउने आधार छैन।  हुन त प्रधानमन्त्री ओलीले यसअघि पनि पटकपटक खोप आउँछ भनेका मितिमा खोप आएका छैनन। उनले पार्टीका आन्तरिक बैठक र सार्वजनिक कार्यक्रमहरुमा कैयौंपटक खोप ल्याउने भाका राखेका छन्। 

गतवर्ष माघ १४  गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो।  भारतले १० लाख डोज कोभिशिल्ड खोप उपहार दिएपछि खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यसको तीन महिनाभित्र सबै नेपालीले कोरोनाबिरुद्धको खोप पाउने दाबी गरेका थिए।

‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भनेका थिए, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई निःशुल्क रूपमा खोप लगाइन्छ।’
तर त्यो दाबी धेरै दिन टिकेन। प्रधानमन्त्री ओली आफैले पछि सक्दो प्रयास गर्ने भनेको भन्दै आफ्नै बोली फेरे।   

तीन महिनाभित्र खोप लगाउने दाबी गरेको मिति सकिएपछि २०७७ वैशाख २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विभिन्न राष्ट्रसँग खोपका लागि प्रयत्न गरिएको र चाँडै खोप ल्याउने दोहोर्याए। 

त्यसबेला उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ। चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील छ ।’ 

यसबेला पनि खोप आउन कुनै प्रगति भएन। पुनः जेठ १४ मा फेरि राष्ट्रको नाममा सम्बोधन गर्दै थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने बताए। त्यसबेला पहिलोमात्रा कोभिशिल्ड लगाएका १४ लाख नागरिकले दोस्रोमात्रा खोप पनि पाएका थिएनन। 

ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने गरेका थिए। तर अहिलेसम्म पनि १४ लाख नागरिकले दोस्रो डोज खोप पाएका छैनन र कहिले पाउने टुंगो पनि छैन। 

‘कोभिड महामारीमाथिको विजयका लागि खोप अनिर्वाय छ। हालसम्म हामीलाई अनुदानबाट ३२ लाख २८ हजार डोज, खरिदबाट उपलब्ध १० लाख डोज बाट खोप अभियान अगाडि बढाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरुलार्य दोस्रो डोज जसरीपनि उपलब्ध हुने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु,’ ओलीले भनेका थिए, ‘थप खोपको व्यवस्था गरेर सबै वयष्क नागरिकलाई खोप लगाएर महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु।’

सोही दिन तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ विरुद्धको खोपबारे १५ दिनभित्र ‘ब्रेक थ्रु’ हुने बताएका थिए। उनले खोप खरिदका लागि विशेषगरी चीन र अमेरिका केन्द्रित रहेको भन्दै चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख गरी एक करोड डोज खोप खरिद गर्ने सरकारको योजना सुनाएपनि त्यो अहिलेसम्म योजनामै सीमित छ। 

गत असार ३ मा प्रधानमन्त्री केपी ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा चीनबाट ४० लाख खोप खरिद गर्न लागिएको जानकारी दिएका थिए। जसका लागि मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई खरिदका लागि अनुमति समेत दिएको थियो। 

चीनले मूल्य गोप्य राख्न भनेकाले सोहीअनुसार सरकारले खोप खरिद गर्न लागिएको भनेपनि उक्त खोप कहिले आउँछ कुनै टुंग्गो छैन। यहीबीच प्रधानमन्त्रीले पुनः शुक्रबार पर्सी खोप आउने दाबी गरेका हुन्। त्यतिमात्रै हैन ओलीले खोप नदिनु भनेर विपक्षी दलले मित्रराष्ट्रहरुलाई भड्काएको आरोप पनि लगाए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .