समाज


कहिले–कहिले आउँदैछ चीनबाट खरिद गरिएको खोप, कसलाई लगाइन्छ?

कहिले–कहिले आउँदैछ चीनबाट खरिद गरिएको खोप, कसलाई लगाइन्छ?

यज्ञराज जोशी
असार २४, २०७८ बिहिबार १७:४७,

सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेप लिन बुधबार दिउँसो नेपाल एयरलाइन्सको विमान बेइजिङ प्रस्थान गरेको छ। 

नेपाल वायुसेवा निगमका अप्रेसन निर्देशक दिपुराज ज्वारचनका अनुसार उक्त विमानले बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टबाट ८ लाख डोज खोप ल्याउनेछ। उक्त विमान शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। 

सरकारले शुल्कसहित शर्तहरु नखुलाउने गरी चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिद गरेको थियो। बुधबारदेखि प्रत्येक साता ८ लाखको दरले खोप ल्याउने जिम्मेवारी सरकारले वायुसेवा निगमलाई दिएको छ। 

वायुसेवा निगमले बिहीबारसँगै थप दुई उडानको कार्यतालिका सार्वजनिक गरेपनि बाँकीको भने टुंग्गाइसकेको छैन। बिहीबार पछि निगमको जहाजले एक साताको फरकमा १५ जुलाई र २२ जुलाईमा बेइजिङमा थप खोप ल्याउन उडान भर्नेछ। त्यसपछि थप खोपको परिणाम अनुसार उडान तालिका सार्वजनिक गरिने ज्वारचनले बताए। 

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप ल्याउन लागेको हो। गत असार ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई उक्त गोप्य सम्झौतासहित खोप खरिदको अनुमति दिएको थियो। 

प्राथमिकतामा को?

यसअघि छुट्टाएको प्राथमिकतालाई निरन्तरता दिँदै चीनबाट ल्याउने खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई दिने तयारी सरकारको छ। त्यसमा आवश्यकता हेरेर केही अपडेट हुनसक्ने स्वास्थ्य मन्त्रालयका बालस्वास्थ्य तथा खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए। 

‘मन्त्रालयले यसअघि नै प्राथमिकता छुट्टाइसकेको छ। बढी उमेरसमूहका लागि बढी जोखिम भएकाले अब ५५ वर्षभन्दा माथिले प्राथमिकता पाउनुहुनेछ,’ गौतमले नेपालखबरसँग भने, ‘त्यसबाहेक केही अपटेडसहित हामी एक दुई दिनमै प्राथमिकता सार्वजनिक गर्नेछौं।’

सरकारले बाढीबाट बढी प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लाका विस्थापितहरूलाई खोप लगाउने निर्णय गरेकाले चीनबाट ल्याउने खोपको प्राथमिकतामा उनीहरु पनि पर्ने भएका छन्। बाढी पीडीतहरुको संख्या अपटेड गर्दै मन्त्रालयले प्राथमिकतामा अपडेट गर्न लागेको हो। 

बालबालिकाका लागि कोरोना खोप आवश्यक नभएकाले ७२ प्रतिशत अर्थात २ करोड १६ लाख जनसंख्यालाई नेपालले खोप लगाउने तयारी गरेको छ। 

हालसम्म नेपालमा भारत, चीन र कोभ्याक्स सुविधामार्फत गरी ४२ लाख ४८ हजार खोप भित्रिएको छ। त्यो मध्ये हालसम्म २५ लाख ७४ हजार पहिलोमात्रा र ७ लाख ५७ हजारलाई दोस्रो मात्रा खोप लगाइसकिएको छ।  

हालसम्म अंग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ६५ वर्षमाथिका र सामाजिक दूरी कायम गरी काम गर्न नमिल्ने क्षेत्रका व्यक्तिहरुलाई खोप लगाइसकिएको छ। 

सरकारको दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका जेष्ठ नागरिक तथा दीर्घरोगी छन्। सोही समूहलाई यसपटक चीनबाट ल्याउने खोप लगाउने तयारी रहेको गौतमले बताए। ५५ वर्ष भन्दामाथिको संख्या नेपालमा ३७ लाख रहेको उनले बताए। 

नपुगेकालाई जोन्सनको खोप

चीनबाट ल्याइएको खोप नपुगेमा कोभ्याक्स सुविधामार्फत आउने जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने तयारीसमेत सरकारको छ। जोन्सनको खोप नेपालले अबको एक महिनाभित्र १५ लाख ३४ हजार ८५० डोज पाउने निश्चित भएको गौतमले बताए। 

स्वास्थ्य मन्त्रालयले खोप आउने पक्का भएपछि आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्र समेत पठाएको छ।

‘कोभ्याक्स सुविधा मार्फत नेपाललाई प्राप्त हुने जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८५० डोज कोभिड भ्याक्सिन (५ डोज/भाइल) नेपाल आयात गर्नका लागि अनुमति प्रदान गरिदिनुहुन निर्देशानुसार अनुरोध छ’ मन्त्रालयले विभागमा पठाएको पत्रमा उल्लेख छ।

नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको कम्पनीसँग उक्त खोप खरीदको प्रक्रिया सुरु गरेको थियो। तर कम्पनीले उपलब्ध गराउन नसक्ने बताएपछि अमेरिकी सरकारले उक्त खोप कोभ्याक्सलाई दिने र कोभ्याक्सबाट नेपालले पाउन लागेको हो। 

नेपालले कोभ्याक्स सुविधामार्फत २० प्रतिशत जनतालाई पाउने गरी खोप पाउनेछ। हालसम्म कोभ्याक्समार्फत नेपालले ३ लाख ४८ हजार डोज खोपमात्रै पाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .