ad ad

समाज


बुटवलका मेयरलाई आक्रमण गर्ने आफ्नै पार्टीका कार्यकर्ता

बुटवलका मेयरलाई आक्रमण गर्ने आफ्नै पार्टीका कार्यकर्ता

सुदीप भण्डारी
असोज ४, २०७८ सोमबार १९:५२, काठमाडौँ

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आक्रमण गर्ने आफ्नै पार्टीका कार्यकर्ता रहेको खुलेको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि गएका सुवेदीमाथि सोमबार दिउँसो आक्रमण भएको थियो।

एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई आक्रमण गर्ने युवा पार्टी निकट अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहेका गणेश पंगेनी हुन्। पंगेनीले नै सुवेदीलाई पहिरो स्थलमा मुक्का प्रहार गरेका थिए। पहिरो पीडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताए। 

मेयर सुवेदीमाथि आक्रमण भएको घटनाको एमाले बुटवल उपमहानगर कमिटीले निन्दा गरेको छ। उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीद्वारा जारी विज्ञप्तिमा सुवेदीमाथि भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरिएको छ। 

‘पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको अवस्थामा अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुःखद, निन्दनीय एवम् खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ। 

ज्योतिनगर, लक्ष्मीनगरवासीको जीउज्यानको सुरक्षा, राहत तथा उद्दारमा लाग्न सम्पूर्ण नगरवासीहरुमा अपिल गर्दै उपमहानगरले तत्कालिन र दीर्घकालीन रुपमा वस्तीलाई सुरक्षित बनाउन संघ र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। 

अविरल वर्षाका कारण बुटवल ३ ज्योतिनगरमा आज पहिरोले थप ९ वटा घर पुरेको छ। यसअघि गएको भदौ १३ गते पहिरोले सोही ठाउँका ७ वटा घर पुरिएका थिए। २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो। 

बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .