समाज


मनसुन बाँकी रहे पनि पानी पर्न छाडिसक्यो : मौसमविद्

मनसुन बाँकी रहे पनि पानी पर्न छाडिसक्यो : मौसमविद्

फाइल तस्बिर : मनसुन


नेपालखबर
असोज २४, २०७८ आइतबार ६:४७, काठमाडौँ

अब देशमा मनसुन (वर्षा गराउने मौसम प्रणाली) कारण वर्षा हुने क्रम लगभग रोकिइसकेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट गत शुक्रबार नै मनसुन हटिसकेको छ। बाँकी स्थानमा मनसुन रहे पनि पानी पर्ने क्रम भने लगभग रोकिइसकेको मौसमविद् मञ्जु बासीले बताइन्। 

उनका अनुसार प्रदेश १, २ बागमती र गण्डकीका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी स्थानमा अझै मनसुन छ। 

‘तर यता पनि पानी पर्न रोकिइसक्यो’, मौसमविद् बासीले आइतबार (आज) बिहान नेपालखबरसँग भनिन्।

पूरै नेपालबाट मनसुन बाहिरिन अझै ३/४ दिन लाग्न पनि सक्ने तथा चाँडै पनि हुन सक्ने सम्भावाना रहेको उनले जानकारी दिइन्। 

‘पानी पर्नचाहिँ छाडिसकेको छ, हामी छलफल गर्छाैं, तपाईंहरूलाई अपडेट गराउँछौं’, मौसमविद् बासीले भनिन्। 

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति यही अक्टोबर २ तारिख भए पनि केही दिन ढिला भइरहेको हो। 

आज पानी पर्ने सम्भावना?
मौसमविद् बासीका अनुसार अहिले (आइतबार बिहान ६:२२ बजे कुरा गर्दा) देशका कुनै पनि स्थानमा पानी परेको छैन। मौसमचाहिँ पहाडी भेगमा आंशिक (धेरै आकाश खाली, थोरैमा बादल) देखि सामान्य (धेरै आकाश बादलले ढाकेको थोरै खाली) सम्म बदली भएको छ। 

‘अब नेपालमा पानी पार्ने त्यस्तो ठूलो प्रणाली छैन’, मौसमविद् बासीले भनिन्। 

तर पनि ससाना सिस्टमले कतै कतै छिटपुट पानी पर्न सक्ने उनले बताइन्।

माैसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई सम्झिनुपर्छ) प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। 

काठमाडौं उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको जानकारी मौसमविद् मञ्जु बासीले दिइन्। 

यस्तै राति पनि तिनै प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाकाे बुलेटिनमा लेखिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .