समाज


प्रधानमन्त्री देउवा हेलिकप्टरमा आए, बाढीपीडित भेटेनन्, नेता भेटेर गए !

काठमाडौं पुगेर राहत घोषणा गर्ने आश्वासन
प्रधानमन्त्री देउवा हेलिकप्टरमा आए, बाढीपीडित भेटेनन्, नेता भेटेर गए !

हेलिकप्टरमा सुनसरीको पकली पुगेका प्रधानमन्त्री देउवा। तस्बिर : कृष्ण बहाब


कृष्ण बहाब
कात्तिक ७, २०७८ आइतबार १३:२२, काठमाडौँ

बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा पहिले सुनसरी पुगे।

सुनसरीमा बाढीले ठूलो क्षति गरेपछि उनी सुरुमै त्यहीँ पुगेका थिए। बाढी पहिरोले प्रदेश १ मा गरेको क्षतिबारे प्रधानमन्त्री  देउवाले ब्रिफिङ लिने कार्यक्रम सुनसरीमा तय भएको थियो।

बाढी पहिरोको क्षतिबारे प्रधानमन्त्रीले ब्रिफिङ लिनका लागि सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको प्रदेश कार्यालयमा व्यवस्थापन गरिएको थियो।

तर त्यहाँ बाढीपीडित सर्वसाधारण थिएनन्। थिए त प्रदेश १ का हाइप्रोफाइल व्यक्ति र नेताहरु। ब्रिफिङस्थलमा उच्च तहका कर्मचारी पनि पुगेका थिए। 

बाढीपीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम त्यहाँ तय भएको थियो। तर उनी खास बाढीपहिरो पीडितलाई नभेटी हेलिकप्टरबाटै प्रभावित क्षेत्र हेरेर हिँडेका छन्।

बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको आश्वासनसहित अन्य मन्त्रीहरु पनि लिएर उनी प्रदेश १ आएका थिए। तर प्रधानमन्त्री देउवाले हाईप्रोफाइलहरुलाई मात्रै भेटेर हिँडेपछि बाढी पीडित निराश भएका छन्। 

उनले पकलीमा सरकारी कर्मचारीहरूबाट बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको ब्रिफिङ सुनेका थिए। 

ब्रिफिङपछि देउवाले काठमाडौं पुगेर छिट्टै राहात घोषणा गर्ने आश्वासन भने दिन भ्याए।

'विपत्ति ढोल बजाएर आउँदैन,अचानक आइदिन्छ, यसै कारण पनि नेपालमा अर्बौंको क्षति भएको छ,' देउवाले भने, 'म काठमाडौं जानासाथ केही न केही घोषणा गर्छु।'

प्रदेश १ का बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न उनी आइतवारै मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। तर, अन्य जिल्लामा पनि सुनसरी जस्तै ब्रिफिङ लिने कार्यक्रम मात्रै राखिएको सुरक्षा अधिकारीहरुले बताएका छन्। 

डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री देउवासँगै ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ प्रदेश १ आएका हुन्।

देउवाले पकलीमा सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए। 

उनले प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि त्यहाँको क्षतिको अवस्था बुझेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .