ad ad

समाज


अछाम घटना : हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध जाहेरी

अछाम घटना : हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध जाहेरी

गोकुल जोशी
जेठ २६, २०७९ बिहिबार १९:१७, कञ्चनपुर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा पीडित परिवारले १३ जनाविरुद्ध किटानी जाहेरी दिएको छ। 

मृतकका दाइ डम्बर शाहीले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्।

किटानी जाहेरी दर्ता भएर घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टले बताए। तर अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले नाम खुलाएको छैन। 

प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि मृतकको परिवारले ६ दिनपछि शव बुझेका छन्। मृतक शाहीको पोष्टमार्टम पछि शव बुझेर हिन्दु परम्परा अनुसार बिहीबार अन्त्येष्टि गरिएको दाइ निराजन शाहीले बताए।

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का शाही शनिबार बिहान कालिकास्थानस्थित कुच्चीको भिरमा मृत भेटिएका थिए। 

किटानी जाहेरी दर्ता गरेर घटनाको सत्य, तथ्य छानबिन गर्नुपर्ने अडान राख्दै मृतकको परिवारले शव बुझ्न मानेका थिएनन्। बिहीबार प्रहरीले जाहेरी बुझेपछि परिवारले मृतक शाहीको शव बुझेको हो।

घटनाको अनुसन्धानको लागि सीआइबीको टोलीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

घटना अनुसन्धानका लागि जेठ २२ गतेदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली घटनास्थलमा खटिएको छ।

यस्तै, संघीय प्रहरी इकाइ कार्यालय कञ्चनपुरका एसएसपी जनकराज पाण्डेय नेतृत्वको टोली पनि घटनाको अनुसन्धानमा सक्रिय छ।

जिल्ला प्रहरी कार्यालय प्रमुखविहीन

जिल्ला प्रहरी कार्यालय अछाम प्रमुखविहीन भएको छ। डीएसपी रविराज थपलिया विदामा भएकाले अछाम प्रहरी कार्यालय प्रमुखविहीन हो।

कार्यालय प्रमुख डीएसपीको दरबन्दी रहेको अछाम अहिले प्रहरी निरीक्षकको भरमा छ। डीएसपी थपलिया १९ जेठमा बिदामा घर गए। जेठ २१ गते विनोद शाही मृत भेटिए अछाममा तनाव भयो।

डीएसपी थपलियाविरुद्ध नै स्थानीय आन्दोलित हुन थालेपछि उनी जिल्लामा हाजिर भएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .