आगामी आर्थिक वर्ष २०७६/७७ मा नेपाली जनताको खुशी डिग्री मापन गरिने भएको छ। तथ्यांक विभागले नेपाली जनता कति खुशी छन् भनेर सर्वेक्षण गर्ने भएको हो।
‘सरकारले पनि सुखी नेपाल समृद्ध नेपालको नारा अघि सारेको छ। त्यसलाई आधार बनाएर हामीले खुशीका सर्वेक्षण गर्न लागेको हौं,’ तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले नेपालखबरसँग भने, ‘नयाँ आर्थिक वर्ष शुरु भएपछि सर्वेक्षण गरिने छ।’
खुशी सर्वेक्षणको तयारी गरिए पनि त्यसको मापदण्ड भने तयारी पारिएको छैन।
‘१५ औं योजनामा केही सूचीहरु रहेका छन्। हामीले खुशी जस्तो सब्जेक्टिभ विषयमा सर्वेक्षण गर्न लागेको छौं तर मापदण्डहरु निर्धारण गरिसकेका छैनौं’ अर्यालले भने, ‘सर्वेक्षणमा जानुभन्दा अगाडि हामी मापदण्ड तयार पारिसक्छौं।’ आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेटमा खुशी मापनका लागि रकम समेत विनियोजन गरिएको छ।
सत्तारुढ दल नेकपाले चुनावका समय सुखी नेपाली समृद्ध नेपालको नारा अघि सारेको थियो। त्यसलाई सरकारले आफ्नो प्रमुख नारा बनाइरहेको छ।
तथ्यांक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्यांकलाई समेत आधार खुशी मापनको तयारी गरिरहेको छ।
नेपालीभाषी बहुल नजिकैको छिमेको भुटानले वैज्ञानिक मापदण्ड तय गरी कुल ग्राहस्थ खुशीपन मापन गर्दैै आएको छ। भुटानले विभिन्न सूचकांक निर्माण गरेर खुशीको मापन गर्ने गर्छ। भुटानले सुशासन, दिगो सामाजिक आर्थिक विकास, संस्कृतिको संरक्षण र प्रवद्र्धन र वातावरणीय संरक्षणलाई यसका चार आधार बनाएको छ। जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक गर्ने मनोभावना, सुशासन, सांस्कृतिक प्रवद्र्धन विषय खुशी मापनका आधारहरु रहेका छन्।
विकासको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि ‘विकसित’को मापदण्डमा खुशीलाई पार्न थालेका छन्।
केही समयअघि राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्रले ‘वल्र्ड ह्यापीनेस रिपोर्ट’ सार्वजनिक गरेको थियो। स्क्यान्डिनेभियन मुलुक फिन्ल्यान्ड पहिलो भएको सो प्रतिवेदनमा नेपाल १०० औं स्थान परेको थियो।

प्रतिक्रिया