ad ad

समाज


सरकारी वार्ता टोलीले थाल्यो अनशनरत डा केसीसँग संवाद, पहिलो दिन निष्कर्षविहीन

सरकारी वार्ता टोलीले थाल्यो अनशनरत डा केसीसँग संवाद, पहिलो दिन निष्कर्षविहीन

गोकुल जोशी
असोज २, २०७९ आइतबार २१:२५, काठमाडौँ

धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ।

संवाद गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको वार्ता टोलीले अनशनरत प्राध्यापक डा. केसीका प्रतिनिधिहरुसँग संवाद सुरु गरेको हो।

काठमाडौँमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ।

वार्ता निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको र आवश्यक गृहकार्य गरी सोमबार दिउँसो १ फेरि छलफलमा बस्ने गरी टुंगिएको डा. केसीका तर्फबाट वार्तामा सहभागी डा. प्रितम सुवेदीले बताए।

‘आज पहिलो चरणको वार्ता भयो, हामीले ७ बुँदे मागहरु वार्ताटोली समक्ष प्रस्तुत गर्यौँ,’ उनले नेपालखबरसँग भने, ‘राजनीतिक तहमा समेत छलफल गर्नुपर्ने भएकाले भोलि दिउँसो १ बजे फेरि बस्ने गरी छुट्टियौँ।’

सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहेका छन्।

डा. गोविन्द केसीको तर्फबाट वार्ता गर्न डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ ।

डा. केसीले ७ बुँदे माग अघि सार्दै भदौ २७ गतेदेखि धनगढीमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थिए।

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए। ‘मुटुको चालमा गडबढ छ, ब्लड प्रेसर घटेको छ, रिंगटा आउने, श्वासप्रश्वासमा अप्ठ्यारो भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, हिँडेर शौचालयसम्म पनि जान सक्नु हुन्न।’

स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधि प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन्। उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधि प्रयोग नगर्ने अडान लिएका छन्।

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका छन्।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .