ad ad

समाज


दसैँलाई कस्ता पहिरन किन्ने? यसरी रोज्‍नुस्

दसैँलाई कस्ता पहिरन किन्ने? यसरी रोज्‍नुस्

काठमाडौंको असनमा दसैँको किनमेलन गर्दै उपभोक्ता। तस्बिर : विशाल कार्की/नेपालखबर


राधिका अधिकारी
असोज १०, २०७९ सोमबार १८:४०, काठमाडौँ

हिन्दुहरुको मुख्य चाड दसैँ सुरु भइसकेको छ। दसैँको चहलपहलसँगै किनमेलको चटारो सुरु भएको छ। दसैँका लागि नयाँ पहिरनमा ठूलो रकम खर्च गर्ने चलन छ। हरेक साल दसैँमा कस्ता पहिरन लगाउने? कस्ता कपडा किन्ने? धेरैलाई तनाव हुने गरेको छ। 

दसैँको सपिङमा धेरैजसो मानिस हेबी पहिरन लगाउन खोज्छन्। महँगा लुगामा समेत धेरैको नजर हुन्छ। नौरथा सुरु भएसँगै नयाँ लुगामा सजिएर मन्दिर जाने क्रम सुरु हुन्छ। यो क्रम नौ दिनसम्म चल्छ। वर्षभरी टाढिएका आफन्त भेट हुने भएकाले दसैँमा विशेष रमाइलो हुन्छ। 

आफन्तबीच रमाइलोका लागि नाचगान गर्ने, घरमा धेरै मानिस जम्मा हुने हुनाले पाइरहनु पर्ने हुन्छ। पारिवारिक घुमघामको समय पनि यही हो। 

१. कस्ता रोज्ने?
दसैँको कपडा किन्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ। गर्मी र जाडोको बीचको मौसम भएकाले हल्का पहिरन रोज्दा राम्रो हुन्छ। कलर र स्टाइलमा फेस्टिभ लुक्स आउने गरी हल्का फेब्रिकमा सजिलो पहिरन रोज्दा सजिलो हुन्छ। दसैँ भन्दैमा धेरै झिलिमिली लगाउनु पर्छ भन्ने छैन। धेरै भड्किलो कलर पनि उपयुक्त हुँदैन। 

हल्का कलर र फेब्रिकमा नेट, जर्जेटमा स्टोन वर्क, थ्रेड वर्क तथा वोर्डर वर्क प्रयोग गर्दा आकर्षक लुक्स देखिन्छ। लगाउँदा सजिलो पनि हुन्छ। साडीलाई पनि लेहेंगा स्टाइलको लगाउन सकिन्छ। टिनएजरका लागि जिन्समा एचेट गरी साडी स्टाइलको पहिरन यूनिक देखिन्छ। 

२. शरीरअनुसारको पहिरन
भनिन्छ, ‘ला'को र खा'को सबैलाई सुहाउँछ।’ मिलाएर लगाउन जान्ने हो भने जसलाई जस्तो पहिरनमा पनि सुन्दर देखिन्छ। तथापी आफ्नो शरीर र वर्ण अनुसारको पहिरन गर्दा अझैं धेरै सुन्दर र आकर्षक देखिन्छ। 

जुनेली बुटिककी ड्रेस डिजाइनर सुनिता उप्रेतीका अनुसार कालो वर्णका युवतीहरू पहेंलो कुर्तामा बेबी पिंक सल र जिन्स लगाउँदा आकर्षक देखिन्छन्। यो पहिरनमा उनीहरु यूनिक पनि देखिने उनको तर्क छ। 

मोटा युवतीहरुलाई ठूला फ्लावरी प्रिन्ट नलगाउने सुनिताले सुझाव दिएकी छिन्। मोटा युवतीका लागि एउटै कलरको सानो प्रिन्ट मिलाएर लगाउँदा आकर्षक देखिने सुनिता बताउँछिन्। दसैँमा झिलिमिली रातो भन्दा सोबर ब्राइट कलरको पहिरन ठिक हुन्छ। लङ कर्तीमा चुज पाइन्ट पनि उपयुक्त हुने सुनिताले बताइन्। 

‘फेस्टिभलका लागि गला र हातमा इम्ब्रोइडरी गरी तयार पारिएका पहिरनले पनि रिच लुक्स दिन्छ दसैँसँगै चिसो सुरु हुने भएकाले स्कार्फ, छोटो ज्याकेट वा कोट लगाए स्मार्ट देखिन सकिन्छ,’ उनले भनिन्। 

उनले दसैँ पोशाकबारे अझै सुझाउँछिन्। ‘प्लेन कुर्तामा इम्ब्रोइडरी सल, इम्ब्रोइडरी पर्स, जुत्ता, ज्वेलरी तथा मेकअपले क्लासी लुक्स दिन्छ। प्लेन फेब्रिकमा लेस वर्क, सेप वर्क तथा रिच देखिने फेब्रिकहरूमा कुर्ता वा गाउन स्टाइलको वान पिस लगाउन सकिन्छ,’ सुनिता थप्छिन्।

३. टिनएरजका पहिरन
बालबालिकापछि सबैभन्दा धेरै टिनएजरलाई दसैँ राम्रै लाग्छ। दसैँका कपडा किन्दा आफ्नो उमेरलाई पनि ध्यान दिनुपर्ने नोभा फेसन हाउसकी मीरा महर्जन बताउँछिन्। टिनएजकाहरुका लागि लेहेंगा, साडी, लङ कुर्ती, विथ पाइन्ट, प्लाजो तथा फ्लोर लङ अनारकल्ली लगाउँदा उपयुक्त हुने मीरा बताउँछिन्। 

अनारकल्लीलाई हाइट, मोटाइ तथा स्किनको टोन अनुसार धेरै तरिकाबाट मोडिफाइ गरेर तयार पार्न सकिन्छ। लङमा माथि नेट दिएर, मोर्डेन टच दिन सकिने मीराले बताइन्। टिनएजरका लागि कुनै विशेष कलर नहुने तर उनीले रातोभन्दा सुन्तला कलर, पहेलो, पिच तथा गोल्डेन र ब्लु कलर बढी रुचाउने मीरा बताउँछिन्। 

‘टिनएजरका लागि फेब्रिकमा सफ्ट नेट, जर्जेट तथा ब्रोकेट उपयुक्त हुन्छ। यसपटक फेरि अनारकल्लीको फेसन भित्रिएको छ। अनारकल्लीमा सफ्ट नेट नै बढी खुल्छ', मीरा भन्छिन्, 'नेटमा अनारकल्लीको घेरा र फिनिसिङ आकर्षक देखिन्छ। यो उमेरका लागि लङ स्कर्टमा सर्ट ज्याकेट पनि चल्तीमा छ। सिल्कमा थ्रेड वर्क वा मोती वर्क गरेर छोटा ज्याकेटसमेत लगाउन सकिन्छ।’

बालबालिकालाई नयाँ लुगा
दसैँ सबैभन्दा रमाईलो बालबालिकालाई हो। सबैभन्दा धेरै रमाउने पनि बालबालिका नै हुन्। दसैँमा नयाँ लुगाको महत्व पनि बालबालिकालाई हुन्छ। उनीहरु घरमा जे जे भएपनि लुगामा निक्कै रमाउँछन्। 

सबै अभिभावक आफ्ना छोराछोरीलाई खुशी राख्न चाहन्छन्। ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई भेल्भेटका कपडामा ग्याडर चोलीवाला फ्रकमा गोल्डेन स्प्रिङ, विड्स तथा स्टोन प्रयोग गरेर पहिरन बनाउँदा राम्रो देखिने फेसन डिजाइनर मन्जु बञ्जरा बताउँछिन्। 

मन्जु भन्छिन्, ‘भेल्भेटकै फ्लावर एट्याच हेडब्यान्ड तथा क्लिपहरू लगाइदिँदा उनीहरू परीजस्तै देखिन्छन्। त्यसको साथमा सिल्क, नेटमा भित्री सिल्क राखेर फेयरवाला फ्रक र त्यसैमा म्याच हुने हेडब्यान्ड बनाइदिनु पर्छ।’

३ वर्षदेखि ७ वर्षसम्मका बालबालिका जस्तो पहिरनमा पनि सुन्दर देखिन्छन्। तैपनि दसैँमा आफ्ना बालबालिकालाई विशेष बनाउने चाहाना सबै आमा बुवाको हुन्छ। उनीहरुलाई  अनारकली लेहेंगा, स्लिभलेस, हल्टर, ब्लाउज विथ नेट चोली राम्रो देखिन्छ। 

यो उमेरका बालबालिकाहरु ऋलि बढि चल्ने, दौडने र खेल्ने गर्छन त्यसैले यो उमेर समुहका बालबालिकाका पहिरन तयार पार्दा कम वर्क र इम्ब्रोइडरी पनि कम गर्नु पर्ने मन्जु बताउँछिन्। यो उमेरका बालबालिकाका लागि धोती स्टाइलका सुरुवाल तथा छोटो कुर्ता पनि आकर्षक देखिन्छ। 

८ देखि १२ वर्ष उमेर समूहका बालिकाहरुले धेरै रुचाउने पहिरन गाउन हो। गाउन नेट वा जर्जेटकै राम्रो हुने मीराको सुझाव छ। अम्ब्रेला कुर्तामा पनि यो उमेरका बालिकाहरु निक्कै सुन्दर र आकर्षक देखिन्छन्। 

अम्ब्रेला कुर्तामा नेट र भेल्भेट फेब्रिक मिक्स गरेर विड्स एण्ड सिक्वेन्स, स्टोन वर्क गर्नुपर्छ। यो उमेरका बालकहरुका लागि पठानी र शेरवानी निक्कै आकर्ष देखिन्छ। 

पठानीमा हल्का प्लेन कपडाको कुर्ता र सलवार बनाएर वेस्ट कोटमा भने भेल्भेट फेब्रिकमा विड्स तथा स्प्रिङ वर्क गराउनुपर्छ। वेस्ट कोटका लागि डार्क पर्पल, डार्क रोयल ब्लु तथा मरुन सुट गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .