समाज


कालोबजारी रोक्न उपभोक्ता सचेत हुनुपर्नेमा विज्ञहरुको जोड

कालोबजारी रोक्न उपभोक्ता सचेत हुनुपर्नेमा विज्ञहरुको जोड

नेपालखबर
असोज २५, २०७९ मंगलबार २०:४६, काठमाडौँ

 दैनिक उपभोग्य बजारमा हुने अनियमितता, ठगी र अगाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता नै सचेत हुनुपर्ने विज्ञ र सरोकारवालाले जोड दिएका छन्।

 उपभोक्ता जागरण अभियानको प्रथम साधारण सभाका वक्ताहरुले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बेच्न तल्लिन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जिम्मेवार बन्नुपर्ने बताए।

दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी नियकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरुको सुझाव छ।

कार्यक्रममा पूर्व सचिव कृष्णहरि बास्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने खाँचो औंल्याए।

उनले बजारमा बढ्दो अनियमितता र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत र जागरुक बन्नुपर्ने बताए 

'बजारमा दण्डहीनता बढेको छ। यसको मारमा उपभोक्ता छन् त्यसैले संविधानले सुनिश्चित गरेको उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ', उनले भने, 'यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ।'

उनले उपभोक्ताले बजारमा वस्तु तथा सामग्री खरिद गर्दा उत्पादन मीति, मूल्यसुचीलगायत विषयमा सचेत हुनुपर्ने बताए।

पूर्व सचिव डा. हरि दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी नियकाले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाईवर्षेभरी सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए।

वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागि परेको बताउँदै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्ने बताए।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हक हित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवम् संस्थाहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए।

कृषिबाली व्यवसाय प्रवद्र्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियानता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र विक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मीहरु लाग्नुपर्नेमा जोड दिए।

मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए।
 
नयाँ कार्यसमिति
साधारण सभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईंको प्रतिवेदन पारित गरेको थियो। 

यस्तै साधरण सभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमिति समेत चयन भएको छ। 

मञ्चको उपाध्यक्षहरुमा सुशीला कुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणी पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सह-सचिवमा बद्री विशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाइँ तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .