धादिङ जिल्लाको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाई रहेका कुख्यात अपराधी साइला भन्ने दुर्गा बहादुर तामाङ पक्राउ परेका छन्।
दुईवटा ज्यान मुद्दा र एउटा डाँका मुद्दामा संलग्न रहेका धादिङ खनियाबास गाउँपालिका–४ का तामाङ आफ्नो सही पहिचान समेत बदली छद्म परिचय बनाई कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनको पिछा गर्ने क्रममा पोखरा महानगरपालिका–२५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कानूनी कारबाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाईएको छ।
साइलालाई गत २०६७ कार्तिक १० गते धादिङ दार्खा–१ पाताले भिरमा शिव थापाको हत्या आरोपमा धादिङ जिल्ला अदालतबाट ५ वर्ष कैद तोकिएको थियो।
यस्तै, उनीमाथि धादिङ दार्खा १ रातमाटेमा २०६९ मंसिर १९ गते भिषण सिंखडाको हत्या गरी फरार रहेको आरोप लागेको छ।
यसैगरी, २०७६ जेठ ८ गते धादिङको खनियाबास गाउँपालिका–१ पर्चे भन्ने स्थानमा साइलासहित पूर्ण तामाङ, मनोज तामाङ र बबिन तामाङलगायतले खुकुरी देखाई ज्यान मार्ने धम्की दिएर कैलाश दिक्षीतको साथबाट नगद ६ लाख १० हजार र मोबाईल लुटपाट गरेका थिए।

प्रतिक्रिया