रुपन्देहीको धकधई सहरोन्मुख क्षेत्र हो। खासगरी यस क्षेत्रमा किसानको बस्ती बाक्लो छ। तर, राम्रो स्वास्थ्य संस्था नहुँदा यहाँका नागरिकलाई सामान्य एक्सरे गर्न पनि ८ किमि टाढा भैरहवा धाउनुपर्ने बाध्यता थियो। अब भने यो समस्या अन्त्य भएको छ।
यहाँ स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे मेसिन सेवा सुरु भएको छ। जिल्लाको रोहिणी गाउँपालिका धकधईस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे र भिडियो एक्सरे सेवा सुरु भएको हो।
स्वास्थ्य सेवा विभागले एक्सरे मेसिन उपलब्ध गराएको हो भने गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरेको हो।
स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले बताए। ‘अब एक्सरे गर्नकै लागि रोहिणी र ओमसतियाका नागरिकलाई भैरहवा–बुटवल धाउनु पर्ने बाध्यता हटेको छ’, अध्यक्ष यादवले भने।
मेसिनको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देही सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै उनले स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्त्पर रहने बताए।
स्वास्थ्य केन्द्रका अध्यक्ष वीरबहादुर क्षेत्रीले उपलब्ध जनशक्तिबाटै एक जनालाई तालिम दिई सेवा सुरु गरेको जनाए। उनले उद्घाटनको अवसरमा २ दिन निःशुल्क एक्सरे गरिने जनाए। यो संस्था २०५२ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको दुई वर्ष पछि २०५४ मा स्वास्थ्य केन्द्र भएको थियो।
केन्द्रबाट दैनिक गर्मीमा १ सय र जाडो याममा करिब ५० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य केन्द्र्रका प्रमुख डा.उमेश गुप्ताले बताए।
केन्द्रले हाल इमर्जेन्सी सेवा, प्रसुती, ल्याव्रोटोरी, निःशुल्क औषधि फार्मेसी, मेन्टल हेल्थ, पोषणलगायत सेवा प्रदान गर्दै आएको छ। अब एक्सरे सेवा पनि थपिएको छ।

प्रतिक्रिया