खानपान र जीवनशैलीमा ध्यान दिनसके मुटु रोगबाट बच्न सकिने विज्ञ चिकित्सकले बताएका छन्। पछिल्लो समय विलासी जीवनशैलीका कारण मानिसमा मुटुरोगको समस्या बढ्दै गएको छ।
‘जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ,’ उनले भने, ‘धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गरे, शारीरिक व्यायाममा ध्यान दिए यो रोगबाट बच्न सकिन्छ।’
मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ।
चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सके मुटुरोगबाट बच्न सकिने बताउँछन्।
‘धूमपान, अत्यधिक मद्यपान, लागूऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ,’ उनले भने, ‘यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ।’
मुटुका केही रोगहरु देखियो र शंका लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन चिकित्सकको सुझाब छ। बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिकमात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरललगायत वायु प्रदूषणलाई पनि मुटुरोगका कारक मानिन्छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिए।
धितालका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन्।
त्यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण हुन्।
चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन्। केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा पनि उपलव्ध छ।
हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ। सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ। रासस
Shares

प्रतिक्रिया