समाज


दसैँमा रातोमाटो र कमेरोले घर रंग्याउने चलन ग्रामीण क्षेत्रमा पनि हराउँदै

दसैँमा रातोमाटो र कमेरोले घर रंग्याउने चलन ग्रामीण क्षेत्रमा पनि हराउँदै

नेपालखबर
कात्तिक २, २०८० बिहिबार ९:२८, बागलुङ

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा दसैँको बेला घर रंगाउने चटारो हुन्थ्यो। बारीमा रहेको रातोमाटो र कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो। तर, अहिले त्यो चलन हराउँदै गएको छ। 

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन्। उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन्। 

गाउँमा खर र ढुंगेघर विस्थापित हुँदै गएपछि रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसकेको गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताए। घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्थ्यो। तर, अहिले त्यो रौनक निकै कम भएको उनको भनाइ छ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ। रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ। गाउँमा ढुंगा, माटो, काठ र घरले बनेका घर बिस्तारै हराउँदै छन्। अचेल माटो, काठ र ढुंगाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन्। यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए। अहिले सडक नपुगेको गाउँ छैन। गाउँमा सडक पुगेपछि स्थानीयले कंक्रिटका आधुनिक घर बनाउन थालेका छन्। इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बुढापाका चिन्तित बनेका छन्। जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन्। बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ। स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने खत्रीले बताए। देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। 

 रातोमाटो र कमेरो बिक्री हुन छोडेको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनारले बताए। वर्षौँदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरिरहेका उनी गाउँमासमेत पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताउँछन्।

‘कच्ची घरमा पनि बजारबाट रातो रङ लिएर लगाउन थालेका छन्, पहिले एकै दिनमा १७र१८ घरमा माटो पुर्‍याउने गर्थे, अहिले दुईरतीन घरबाट पनि माग आउँदैन,’ सुनारले भने, ‘दशैँ आएको छ, माटो कसैले किन्दैनन्, कहीँबाट पैसा पनि आउँदैन।’

स्थानीय मीनकुमारी पौडेलले बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताइन्। नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको उनको भनाइ छ। पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दशैँका बेला माटो र कमेरोको माग निकै हुने गरेकोमा अहिले सबै भवन पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उनी बताउँछिन्। 

‘घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो, दशैँका बेला त्यहाँ ठूलो भीड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नुपर्थ्यो,’ उनले भने, ‘त्यस बेला त स्कुलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थी लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो। तर अहिले विद्यालय पनि सिमेन्टबाट बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad