समाज


सँगै सुतेका बुहारी र नाति-नातिनीलाई भूकम्पले लग्यो, बुढेसकालमा एक्लिइन् सरस्वती

सँगै सुतेका बुहारी र नाति-नातिनीलाई भूकम्पले लग्यो, बुढेसकालमा एक्लिइन् सरस्वती

भूकम्पपछि घरले पुरिएर पनि बाँचेकी सरस्वती जैशी। तस्बिर : दिनेश बुढा


दिनेश बुढा
कात्तिक २१, २०८० मंगलबार २०:५३, सुर्खेत

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ की ६० वर्षीया सरस्वती जैशी एक्लो भएकी छन्। शुक्रबार (कात्तिक–१७) गतेको भूकम्पले उनीसँगै सुतेका बुहारी र तीन नाति-नातिनी गुमाइन्। 

सरस्वतीले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडामा केन्द्रबिन्दु भएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण परिवारका चार सदस्यसँगै घर पनि गुमाएकी हुन्। 

भूकम्पका कारण बुढेसकालको सहारा खोसिएको छ। केही समयअघि श्रीमान् र जेठो छोरो गुमाएकी सरस्वती यो घटनापछि विक्षिप्त छिन्। 

भूकम्प गएको त्यो रात सम्झिँदै भनिन्, ‘जेठी नातिनी र म फरक कोठामा सुतेका थियौँ। बुहारी र दुई नाती-नातिनी अर्को कोठामा थिएँ। उनीहरु चारैजना भूकम्पमा छोपिए, म भाग्येले बाँचे।’

सरस्वतीले भूकम्प आएको थाहा पाएलगत्तै सँगै सुतेकी नातिनीलाई उठाएर भाग्न खोजिन्। 

भूकम्पले घर बेस्सरी हल्लाएकाले भत्किन सुरु भइसकेको थियो। शरीरमाथि ढुङ्गा-माटो खस्न थालेपछि नातिनीसँगै ढलिन्। भाग्यवश उनको टाउको जोगियो। 

‘सँगै भएकी नातिनी र मेरो टाउकोभन्दा तलको शरीर भत्किएको घरले पुरिदियो। भाग्यले टाउको घरबाहिर रहेछ’, उनले घटनाविवरण सुनाइन्, ‘त्यतिबेला चिच्याएँ। कराएँ। त्यसपछि गाउँले आएँ। उनीहरुले मलाई बचाएँ। बाहिर निकाले। बाँच्न सफल भएँ।’ 

सँगै पुरिएकी नातिनीलाई निकालेर बाहिर आउन खोजेकी उनी सफल भइनन्। 

‘सँगै सुतेकी नातिनीलाई उठाएर घरबाहिर आउन खोजेँ तर मेरो शरीरको पछाडीबाट घरले थिच्यो। शरीरमाथि ढुङ्गा खनिए। काठले गर्दा टाउको जसोतसो जोगियो’, उनले सुनाइन्, ‘मैले रुँदै गाउँलेलाई मेरा नाति-नातिनी र बुहारी च्यापिएका छन्, बचाइदिनु भन्दै गुहारेँ। गाउँले चारैजनाको उद्धार गरे। तर, ढिलो भइसकेको रहेछ। श्वास भेटाउन सकिन्। उनीहरूले मलाई छाडेर गइसकेका रहेछन्।’

शुक्रबार साँझ सँगै सुतेका तीन कलिला नाति-नातिना र बुहारीलाई गुमाएपछि अब आफू एक्लै बाँच्नुको अर्थ नभएको उनले बताइन्। 

गाउँलेले भुकम्पलले तहसनहस भएको घरका ढुङ्गा- माटो पन्छाएँ। तर त्यही घरले पुरिएका सरस्वतीका नाति-नातिना र बुहारी उनलाई एक्लै पारेर कहिले नर्फकिने बाटोमा गइसके।

ज्यान गुमाएकी २८ वर्षीषा अमृता जैशी सरस्वतीकी माइली बुहारी थिइन्। दुई र आठ वर्षीया नातिनी र ६ वर्षीय नातिको भूकम्पले ज्यान लियो। 

सरस्वतीका माइला छोरा अर्थात् अमृताका श्रीमान् रोजगारीका लागि भारतमा थिए। यो हृदयविदारक घटनापछी मंगलबार मात्रै घर पुगेका छन्। अरु कोही नभएका कारण सरस्वतीका कान्छा देवर किररियापुत्री बसेका छन्। 

भूकम्पका कारण सरस्वती घाइते भएकी छन्। सामान्य हिँडडुल गर्न गाह्रो भएको उनले सुनाइन्। घर भत्किएपछि अहिले नजिकैको स्कुलको खुल्ला चौरको त्रिपाल सरस्वतीको रात काट्ने आड भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .