चीनमा नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी भएसँगै उनीहरूलाई यहाँ राख्ने सुरक्षित स्थानको खोजी तीव्र पारिएको छ।
कथं उनीहरूमा कोरोना भाइरसको संक्रमण रहेछ भने अरूलाई नसरोस् भनेर सुरुमा सुरक्षित रूपमा अलग्गै राख्नुपर्ने भएकाले अहिले त्यस्तो स्थानको धमाधम खोजी भइरहेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट स्वदेश फर्काइने नेपालीलाई सीधै घर जान दिइने छैन। कम्तीमा उनीहरूलाई २ हप्ता अन्यसँग सम्पर्क र लसपस नहुने अलग्गै स्थानमा राखिनेछ।
‘त्यसका लागि अहिले हामी धमाधम स्थान खोजिरहेका छौं,’ प्रवक्ता श्रेष्ठले आइतबार बिहान नेपालखबरसँग भने, ‘सेनाका ब्यारेक, विभिन्न सरकारी तालिम केन्द्र, विद्युत् प्राधिकरणजस्ता स्थान हामीले हेरिरहेका छौं।
उनका अनुसार काठमाडौं नजिकका सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई सम्भावित ठाउँका रूपमा हेरिएको छ।
यसैगरी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोट जाने बाटोमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र र कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रलाई समेत क्वारेन्टाइन स्थलमा प्रयोग गर्न सकिने ठाउँका रूपमा पहिचान गरिएको उनले बताए।
चीनको हुवेई प्रान्तका उहानलगायत चार/पाँच सहरका गरी १ सय ७७ नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको उनले जानकारी दिए।
याे पनि : चीनको हुबेईका नेपालीलाई फर्काउन विमान चार्टर्ड गर्ने तयारी, फर्कनका लागि फारम भर्न सूचना
कोरोना भाइरस संक्रमण भए पनि त्यसका लक्षण देखिन कम्तीमा १४/१५ दिन लाग्ने भएकाले यस अवधिभर ती नेपालीलाई क्वारेन्टाइनमा राख्न यी स्थानको खोजी गरिएको हो।
प्रवक्ता श्रेष्ठका अनुसार नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फर्काइने नेपालीहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने छ।
‘उनीहरूलाई उताबाट आउनेबित्तिकै घर जान दिँदैनौं, कम्तीमा २ हप्ता अलग्गै सुरक्षित स्थानमा, मेडिकल अब्जरबेसन (चिकित्सकीय निगरानी) मा राख्छौं,’ उनले भने, ‘कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएपछि बल्ल घर पठाउँछौं।’
कोरोना थप नफैलियोस् भनेर अन्य देशले चीनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् भने चीन भ्रमणमा जान पनि रोक लगाएका छन्।
अन्य देशमा १५औं शताब्दीदेखि नै क्वारेन्टाइन, हाम्रोमा छैन
विश्वमा यस्तै महामारी फैलिएका बेला स्वदेश फर्किने नागरिकलाई सुरक्षित स्थानमा राख्न विश्वका विभिन्न मुलुकमा ४/५ सय वर्षअघिदेखि नै क्वारेन्टाइन व्यवस्था भएकाे तर हाम्रो मुलुकमा अहिलेसम्म नभएको सरकारी अधिकारीहरू नै बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अमेरिका, चीनलगायत मुलकुमा १५औं/१६औं शताब्दीदेखि नै क्वारेन्टाइन सिस्टम भएको बताए। तर हाम्रो अहिलेसम्म त्यस्तो व्यवस्था नहुँदा अहिले समस्या भएको बताए।
‘यसरी पटकपटक नयाँ नयाँ रोग देखिइरहेको छ, खासमा हामीलाई पनि अब स्थायी रूपमै क्वारेन्टाइन व्यवस्था जरुरी छ,’ उनले भने, ‘यो घटनापछि सायद सरकारले यस विषयमा सोच्नेछ।’
नेपालमा अहिलेसम्म कति संक्रमित?
नेपालमा अहिलेसम्म एक जनामा मात्र संक्रमण पुष्टि भएको छ।
चीनबाट फर्किएका एक नेपालीमा उक्त भाइरस संक्रमण भएको पुष्टि भएको हो।
तर उनी पनि उपचारपछि अहिले पूर्ण रूपमा निको भइसकेको प्रवक्ता श्रेष्ठको दाबी छ।
त्यसपछि पनि शंकास्पद व्यक्तिको परीक्षण गर्ने क्रम भने जारी रहेको उनले बताए।
यसअघि शंकास्पद व्यक्तिको रगत तथा र्याल परीक्षणका लागि विदेश नै पठाउनुपर्ने बाध्यता रहेकामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यसको परीक्षण सुरु भएपछि कोरोना भाइरस परीक्षण गर्ने क्रम बढेको छ।
अहिलेसम्म सयभन्दा बढी व्यक्तिको जाँच भइसकेको तर पहिलेका ती एक व्यक्तिबाहेक अरूमा यो भाइरस नेगेटिभ (नभएको) पाइएको उनले जानकारी दिए। तर जाँच्ने क्रम जारी नै रहेको प्रवक्ता श्रेष्ठले बताए।
कस्ता व्यक्तिको जाँच गरिन्छ?
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा अहिले कोरानो भाइरस संक्रमण आशंका भएका व्यक्तिहरूको परीक्षण भइरहेको छ। तर त्यहाँ जो पायो उही व्यक्तिको परीक्षण गरिँदैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार निम्न ‘क्राइट एरिया’ भएका व्यक्तिमा मात्र कोरोना भाइरस परीक्षण गरिन्छ :
१. सबभन्दा पहिलो र ठूलो कारण हो- त्यो व्यक्तिको चीनको उहानबाट आएको हुनुपर्छ।
२. नेपालमै रहे पनि चिनियाँ नागरिकसँग उठबस गरेका व्यक्ति
३. ज्वरो आएको, सास फेर्न गाह्रो भएकाे हुनुपर्ने
४. एक्सरे गर्दा छातीमा दाग देखिएको हुनुपर्ने
विश्वमा मृतकको संख्या ३०४ पुग्यो, १४ हजार ३ सय जना संक्रमित
चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो भाइरसबाट विश्वभर १४ हजार ३ सय जना संक्रमित भएका छन्।
गत डिसेम्बर अन्तिम साता चीनको उहानमा पहिलोपटक देखापरेको कोरोना भाइरस यतिबेला विश्वका २५ देशमा फैलिइसकेको छ।

प्रतिक्रिया