दैलेखको नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा दीपककुमार आचार्य हाजिर भएका छन्।
बिहीबार (पुस–५) दिउँसो साढे दुई बजे उनी कार्यालयमा हाजिर भएका हुन्।
नगर प्रमुख लोमन शर्माले आचार्यलाई हाजिर गराउन नसकिने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस ३ गते चिठी लेखेका थिए। चिठीमा उनले आचार्यलाई गलत आचरण भएको भनी आरोप पनि लगाएका थिए। उनले आचार्यलाई हाजिर नै गर्न नदिने पत्रमै लेखेका थिए।
संघीय मन्त्रालयले १७ दिनमै फेरिदियो प्रशासकीय अधिकृत, हाजिर गर्न नदिने मेयरको अडान
मंसिर २९ गते मन्त्रालयले आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउनले निर्णय गरेको थियो।
आचार्य मालपोत कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट सरुवा भएका हुन्। नगर प्रमुख शर्माले हाजिर हुन नदिने भनेर पत्र पठाएको थाहा पाएपछि आचार्य गाडी रिजर्भ गरेर रौतहटबाटै सिधै दैलेखको नारायण नगरपालिका पुगेका हुन्।
नगर प्रमुख शर्मा नगरपालिकामा नभएको समय पारी आचार्य हतारहतार कार्यालयमा पुगेका थिए। शर्मा हाल सुर्खेतमा छन्।
नगर उपप्रमुख तप्ता थापा कार्यालयमै भए पनि उनले स्वागत वा शिष्टाचार देखाइनन्। आचार्यले पनि कार्यालय पुग्नेबित्तिकै नगर प्रमुख, उपप्रमुख वा अरू कुनै पदाधिकारीको खोजी नगरी आफ्नो कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
आचार्यलाई नगरपालिकाका केही कर्मचारीले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा जनप्रतिनिधि कसैलाई पनि खबर नभएको नगर उपप्रमुख तप्ता थापाले जानकारी दिइन्।
उनले आफ्नो कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत आएकोबारे आफूलाई कुनै जानकारी नभएको नेपालखबरसँग बताइन्।
उनले भनिन्, ‘म बिहान १० बजेदेखि आफ्नो कार्यकक्षमै छु। मलाई थाहा छैन, जानकारी छैन। जानकारी नभएको कुरा मैले बोल्न भएन। आधिकारिक कुरा जानकारी नहुँदा नहुँदै जिम्मेवार मान्छेले बोल्नुहुँदैन।’
यता भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफू नगरपालिकामा हाजिर भएको जानकारी दिए। उनले भने, ‘कसले के भनिरहेका छन्, त्यता मेरो ध्यान छैन। सरकारले जिम्मेवारी दिएर पठाएकाले नारायण नगरपालिकामा रहँदासम्म कुशलतापूर्वक आफ्नो काम गर्नेछु।’
Shares
प्रतिक्रिया