समाज


पोर्चुगलमा गम्भीर घाइते भइन् सिन्धुलीकी सुस्मिता, उपचार नपाउँदा परिन् बिचल्लीमा

पोर्चुगलमा गम्भीर घाइते भइन् सिन्धुलीकी सुस्मिता, उपचार नपाउँदा परिन् बिचल्लीमा

ओछ्यानमा ढलिरहेकी सुस्मिता मोक्तान


भरत प्रधान/रासस
माघ २४, २०८० बुधबार २०:३३, लिस्बन (पोर्चुगल)

पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन्। 

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्। सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्। 

गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी उनका दाहिने हात र देब्रे हिप भाँचिएका छन्।

दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ। कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ। हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ। सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्‍याइएको थियो भने कार चालक फरार भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी फिर्ता पठाएको पीडित मोक्तानले दुःखेसो पोखिन्। खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी कोठामै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उनले बताइन्। 

रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचना गरेकी छन्। 

‘उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु। न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु। विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन। उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ’, पीडा सुनाउँदै मोक्तानले भनिन्।

दुर्घटनामा परी बाँचे पनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन्। दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छन्। मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा काम गर्थिन्। 

भाँचिएको खुट्टाको उपचार नै नगरी जबर्जस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको अवस्था झन् नाजुक बन्दै गएको उनीसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताइन्। ‘सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन। ओछ्यानमा थला परेकी छन्, रेखदेख गर्ने कोही छैन। उनको त बिजोग नै भएको छ’, सहयोगको आशा राख्दै बानियाँले भनिन्। 

मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ। मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताए।

पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए। उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरिएको उनले सुनाए। 

अस्पतालले डिस्चार्ज गरेपछि उनी कम्पनीले कामदार राख्ने आवासगृहमा साथीहरूसँग बसेकी छन्। नेपाल नगएको चार वर्ष भएको बताउने मोक्तानका ८ वर्षीय छोरा र श्रीमान् नेपालमा छन्। 

मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उनको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए।

पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरेको थियो। रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .