समाज


पूर्वडीआईजीको घरमा भेटियो जीबी राईको १० अर्ब बढी कारोबारको नालीबेली

पूर्वडीआईजीको घरमा भेटियो जीबी राईको १० अर्ब बढी कारोबारको नालीबेली

उजिर कार्की
फागुन १, २०८० मंगलबार १८:५२, काठमाडौँ

सहकारीको अर्बौँ रकम हिनामिना गरेर फरार भएका जीबी भन्ने गितेन्द्र बाबु राईको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको विवरण प्रहरीले फेला पारेको छ। नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको घरबाट बरामद भएका चार वटा सर्भरमा जीबीले सञ्चालन गरेका चारवटा सहकारीका विवरण फेला परेको हो। 

काठमाडौँको शंखमुलस्थित पूर्वडीआईजी जोशीको घरमा गत बुधबार प्रहरीले छापा मारेर चार वटा सर्भर बरामद गरेको थियो। जीबी राईका व्यावसायिक साझेदार समेत रहेका पूर्वडीआईजी जोशीले ती सहकारीको तथ्य खुल्ने सर्भर लुकाइदिएको खुलेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले जोशीको घरमा छापा मारेर उक्त सर्भर बरामद गरेको थियो। ती सर्भर अनुसन्धानका लागि कास्की लगिएको छ। 

सूर्यदर्शन सहकारीका बचतकर्ताका करोडौँ ठगी गरेको जाहेरीमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले जीबीका अन्य सहकारीको पनि तथ्य फेला पारेको हो। 

सर्भरमा पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीको पनि कारोबार विवरण फेला पारेको कास्कीका एक अनुसन्धान अधिकारीले बताए। 

यी सहकारीको १० अर्बभन्दा बढीको कारोबार विवरण सर्भरमा फेला परेको र थप अनुसन्धान भइरहेको उनले बताए। 

पहिले सम्बन्धित सहकारीमै रहेका सर्भर जीबी राईले सुरक्षित राख्न पूर्वडीआईजीको घरमा लुकाएका हुन्।

सहकारीविरुद्ध उजुरी परेर छानबिन सुरु भएसँगै पूर्वडीआईजीको घरमा लुकाइएको खुलेको हो। ती सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको तथ्यांक छ। 

‘सर्भर नै नष्ट गर्दा आफ्नो उठाउन पर्ने रकमको पनि हिसाबकिताब नरहने भएकाले लुकाएको हुनसक्छ,’ ती अधिकृतले नेपालखबरसँग भने, ‘पूर्व प्रहरीकै उच्च अधिकारीको घरमा राख्दा सुरक्षित हुने ठानेर त्यहाँ राखे। तर हामीले सूचना पाएपछि छापा मारेर बरामद गरेको हो।’

सहकारी सञ्चालक राई भने हाल फरार छन्। उनी मलेसियामा रहेको सूचना पाएको प्रहरीले पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको सहयोग खोजेको छ। 

अहिलेसम्म पक्राउ परेका ५ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। १४ जना भने फरार छन्। 

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ फरार छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनविरुद्ध पनि पीडितको उजुरीपछि प्रहरीले यही मुद्दामा अनुसन्धान गरिरहेको छ।

सूर्यदर्शन सहकारीका १९ हजार बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .