रक्षामन्त्री हरि उप्रेतीले बहुचर्चित काठमाडौँ-तराई-मधेस फास्ट ट्रयाक निर्माणको अनुगमनमा आफैं खटिने बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूलाई जवाफ दिँदै रक्षामन्त्री उप्रेतीले यस्तो बताएका हुन्।
सेनालाई दिँदा समेत फास्ट ट्रयाकको काम सोचे जस्तो अघि बढ्न नसकेको गुनासो आइरहेका बेला राज्य व्यवस्था समितिको बैठकमा पनि सांसदहरूले कुरा उठाएका थिए।
सांसदहरूले कुरा उठाएपछि मन्त्री उप्रेतीले सेनाले गरेका हरेक काम अनुगमनमा आफू पुग्ने बताए।
‘सेनाले गरेको हरेक काममा पुग्छु। म हरेक कामको निरीक्षण गर्छु। किन ढिला भएको रहेछ भन्ने हरेक कुरा थाहा पाउँछु’, उनले भने, ‘आगामी दिनमा मेरो अनुगमन र निरीक्षणका क्रममा कसैले ढिलासुस्ती र भ्रष्टाचार गरेको प्रमाणितका साथ आए छाड्ने छैन।’
उनले यदि आफूले पनि अनियमितता गरेको पाइएमा राज्यका संयन्त्रहरूले नछाड्ने बताए। ‘मैले गल्ती गरेमा मलाई पनि छाड्न हुन्न भन्ने विश्वास राख्छु’, उनले भने।
Shares

प्रतिक्रिया