ad ad

समाज


पोखरामा जग्गा किन्न लागेका जिसी दम्पती लुटेराबाट मारिएको आशंका

चारदिनपछि एउटै चितामा अन्त्येष्टि
पोखरामा जग्गा किन्न लागेका जिसी दम्पती लुटेराबाट मारिएको आशंका

हत्या गरिएका दम्पतीको अन्त्येष्टि गर्दै स्थानीय । फोटो सौजन्य : शिव आचार्य


उजिर कार्की
चैत २२, २०८० बिहिबार २२:९, काठमाडौँ

चारदिन अघि हत्या गरिएका पर्वतको जलजलाका दम्पतीको बिहीबार एउटै चितामा अन्त्येष्टि गरियो। परदेशमा भएका छोराहरु घर फर्किएपछि पोष्टमार्टम गरेर प्रहरीले बा–आमाको शव जिम्मा लगाएको थियो।

पर्वतको जलजला गाउँपालिका २ मल्लाज दह गाउँका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

तीन भाइ मध्ये दुई भाइ छोरा कोरियामा र एक भाइ बेनीमा बस्थे। घरमा भएका बा–आमाकै हत्यो भयो। तर हत्या कसले गर्यो भन्ने प्रहरीले पत्ता लगाइसकेको छैन।

तर जिसी परिवारले एकसातापछि कास्कीको पोखरामा जग्गा किन्दै थिए। जग्गा पास गर्ने मिति नजिकिँदै जाँदा रकम जुटाइरहेका थिए। त्यही रकम लुट्ने उदेश्यले दम्पतिको हत्या भएको हुनसक्ने प्रहरीको अहिलेसम्मको अनुसन्धानको निस्कर्ष छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालसहितको टोली गाउँमै छ।

दम्पतिको हत्या सम्पति लुट्ने उदेश्यले भएको निस्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गर्यो भन्ने पत्ता लगाउन भने सकस परिरहेको छ।

‘जिसी परिवारको बारेमा जानकारबाटै हत्या भएको देखिन्छ। घटनाको खबर पाएदेखि नै हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं। तर अहिले नै हत्यामा संलग्नबारे निचोडमा पुगिसकेका छैनौं। संकित व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं’, डीएसपी भुसालले भने।

घटनास्थलमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी विकासराज खनालसहितको टोली पनि पुगेको थियो। खनालका अनुसार जिसी दम्पत्तिको हत्या लुट्ने उदेश्यले नै भएको देखिन्छ।

हत्यापछि कमला जिसीले लगाएका सुनका गहना लुटिएको छ। घरमा अन्य सम्पत्ति पनि खोजतलास गरेको देखिएको प्रहरीको भनाई छ।

‘हत्यापछि उनीहरुले लगाएका गहना लुटिएको छ। घरमा अन्य सम्पत्ति पनि खोजतलास गरेको देखिन्छ’, डीएसपी भुसालले भने।

यस्तै उनीहरुले कास्कीको पोखरामा जग्गा किन्न लागेको पनि पाइएको छ। सोही वडाका वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले उनीहरुले यही महिना पोखरामा एक डेढ करोडको जग्गा किन्न लागेको बताए।

वडाध्यक्ष घर्ती क्षेत्रीले नेपालखबरसँग भने, ‘पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी रहेछ। यसका लागि उनीहरुले केही दिनअघि मात्रै सहकारीमा ऋण मिलाई सकेका रहेछन्।’

जीसी दम्पतिका दुई छोरा दक्षिण कोरियामा थिए। उनीहरु बाबुआमाको हत्यापछि बुधबार राति घर फर्किएका छन्। उनीहरु फर्किएसँगै बिहीबार पोष्टमार्टम गरेर शव जिम्मा लगाइएको छ।

उनीहरुले कोरियामा कमाएको र जिल्लाकै सहकारीबाट ऋण लिएर जग्गा पास गर्ने तयारी थियो। सहकारीमा २७ गते मात्रै रकम लिने कागज मिलाएर फर्किएका थिए।

‘छोराहरु कोरियामा थिए। उनीहरुले घरमा कति पैसा पठाएका थिए भन्ने कुरा भइसकेको छैन’, वडाध्यक्ष घर्ती क्षेत्रीले भने । उनका अनुसार जग्गा किन्ने बेलामा जिसी परिवारले दुई वटा सहकारीबाट ऋण लिने प्रक्रिया मिलाइसकेका थिए।

साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ तत्कालै लिने तयारी थियो। यसअघि नै रोक्का भएको जग्गाबाट ५ लाख रुपैयाँ ऋण दिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने बताएको थियो।

मलाज बहुउदेश्यीय सहकारी संस्थाबाट २७ गते १० लाख रुपैयाँ लिने तयारी थियो। सहकारीले यसअघि नै सबै प्रक्रिया पूरा भएपनि जिसी परिवारले नै २७ गते मात्रै ऋण लिने बताएका थिए।

तर उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शंकामा लुटपाट गरेको र त्यसक्रममा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

‘हाम्रो पूरै शक्ति संयन्त्र यही घटनाको अनुसन्धानमा लगाएका छौं। घटना भइसकेपछि म पनि पुगेँ। घटना हेर्दा विभत्स देखिएको छ। घटनामा धारिलो हतियार र लाठि प्रयोग भएको देखिन्छ’, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी खनालले नेपालखबरसँग भने।

शंका लागेका व्यक्तिलाई पक्राउ गर्ने र सोधपुछ गर्ने काम भइरहेको र हराएका भनिएका सामानहरु पनि यकीन गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .