समाज


डढेलो लगाउनेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

डढेलो लगाउनेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १८:३८, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी उनीहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगोलागीसम्बन्धी आपत्कालीन छलफल’मा लामिछानेले आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन्। 

लामिछानेले गृह मन्त्रालय, मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने, ‘केही मान्छेका कारण वन र बस्ती सखाप भइरहेको छ। आगलागीले विपद्कै रूप लिइसक्यो। तर, आगो लगाउनेको अक्सर पहिचान हुँदैन। पहिचान भएका पनि कानुनमातहत आएका छैनन् होला। वनमा आगो लगाउनु अपराध हो। अपराध गर्नेलाई कारबाही हुनुपर्छ। त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला।’

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो। उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई सूचना दिन अनुरोध पनि गरे। 

विपद् नै पिच्छे स्रोत–साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेकोतर्फ संकेत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने बताए। उनले स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम् सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिए।

नीति, कानुन र व्यावहारिक कठिनाइ भए फुकाउन आफूले नेतृत्व लिने भन्दै मन्त्री लामिछानेले डढेलो लगायतका विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पनि स्रोत–साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए। 

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एककीतृ कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको औंल्याएका थिए।

दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, १४० जना घाइते भएको र एक हजारभन्दा बढि घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ। 

वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२ औं बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगोलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी ५० हजार रुपैयाँ अनुदान पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .