गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्थाका रूपमा परराष्ट्र मन्त्रालयमा दर्ता भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले सदस्यताका लागि आवेदन खुलाएको छ।
संस्थाका तर्फबाट एक विज्ञप्ति जारी गरी सोनाम लामाले सदस्यका लागि अनलाइन आवेदन दिन आह्वान गरेका छन्। उद्यमशीतामा उत्कृष्टता, मौलिक नीतिको वकालत, रणनीतिक नेतृत्वका लागि यूएडीओ रोज्नुपर्ने संस्थापक अध्यक्ष लामाले बताएका छन्।
उनले दूरदर्शी नेतृत्वदायी व्यक्तिहरू, उदीयमान उद्यमीहरू, लगनशील परिवर्तनकर्ताहरू र नेपाली डायस्पोराका आविष्कारकहरूको अर्को पुस्तालाई नेपाल र नेपालीहरूको विश्वव्यापी समुदायमा आबद्ध गर्ने उद्देश्यका साथ सदस्यता खोलिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपाली डायस्पोरालाई एकताबद्ध गर्न गैरराजनीतिक, गैरनाफामूलक, प्रगतिशील र समावेशी विश्वव्यापी संस्थाको रूपमा यो स्थापना भएको उनले दाबी गरेका छन् । स्वदेश र विदेश दुवैतिर उद्यमशीलतालाई बढावा दिने, अवसरहरू सिर्जना गर्ने र नेपालीलाई वास्तविक लाभहरू प्रदान गर्ने नीतिहरूको वकालत गर्ने संस्थाको उद्देश्य रहेको उनको भनाइ छ।
यो संस्था गत माघ १७ गते परराष्ट्र मन्त्रालयमा दर्ता भएको थियो। सुरुमा मन्त्रालयले एउटा मात्र गैरआवासीय नेपालीको संस्था दर्ता गर्न मिल्ने कानुनी प्रावधान रहेको भन्दै यो संस्था दर्ता गर्न मानेको थिएन। अध्यक्ष लामाले न्यायालय गुहारेपछि सर्वोच्च अदालतले दर्ता गर्न परमादेश दिएको थियो।
गैरआवासीय नेपाली संघजस्तै अर्को संस्था दर्ता, सोनाम लामाको समूहले पायो प्रमाणपत्र
‘हामी सुनिश्चित गर्छौं कि नेपाली डायस्पोराको आवाज र योगदान अर्को पुस्तासहित विश्वव्यापी नेपाली समुदायको भविष्यलाई आकार दिन सहायक हुनेछन्। हामी नतिजामुखी कार्य र दिगो विकासमा ध्यान केन्द्रित गर्छौं, वक्तव्यबाजीमा मात्र होइन,’ अध्यक्ष लामाको विज्ञप्तिमा लेखिएको छ।
‘यूएनडीओले नेटवर्किङ, मेन्टरसिप र लगानीका स्रोतहरूका लागि एक बलियो प्लेटफर्म प्रदान गर्नेछ, जुन तपाईंका विचारहरूलाई प्रभावकारी उद्यममा परिणत गर्न डिजाइन गरिएको हो। चाहे स्थापित उद्यमी होस् वा उदीयमान उद्यमी, यूएनडीओले सफलता हासिल गर्न आवश्यक सहयोग प्रदान गर्नेछ,’ लामाको भनाइ छ।


Shares

प्रतिक्रिया