समाज


विवाहको ५ महिना नबित्दै महोत्तरीमा १९ वर्षीया युवतीको रहस्यमय मृत्यु

दाइजोको निहुँमा छोरीको हत्या भएको भन्दै बुवाले दिए पतिसहित ४ जनाविरुद्ध जाहेरी
विवाहको ५ महिना नबित्दै महोत्तरीमा १९ वर्षीया युवतीको रहस्यमय मृत्यु

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १३:२२, काठमाडौँ

गएको मंगलबार (भदौ ४ गते) मध्यराति महोत्तरीको जलेश्वर नगरपालिका- ८ रमौली निवासी रोहण राउतकी १९ वर्षीया पत्नी रिना राउत (यादव)को रहस्यमय मृत्यु भयो। 

विवाह गरेको पाँच महिना नपुग्दै आफ्नै घरमा भएको रिनाको मृत्युलाई माइती पक्षले स्वाभाविक रुपमा लिएका छैनन्। दाइजोको कारण परिवारका सदस्य मिलेर उनको हत्या गरेको दाबी माइती पक्षको छ। 

रिनाको मंगलबार मध्यराति आफ्नै घरमा रहस्यमय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बुधबार बिहान प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको थियो। 

‘रिनाको मृत्युलाई उनको माइती पक्षले स्वाभाविक रुपमा लिएका छैनन्,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तु जैसवालले नेपालखबरसँग भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यथार्थ विवरण सार्वजनिक हुन्छ। पोष्टमार्टमपछि बिहीबार रिनाको शवको अन्त्यष्टि भइसकेकाे छ।’ 

उनले युवतीको मृत्यु शंकास्पद देखिए पनि अहिलेसम्म कसैलाई पक्राउ नगरिएको बताए। 

‘उनको हत्या हो/होइन, अनुसन्धान भैरहेको छ,’ डीएसपी जैसवालले भने, ‘सबैकुरा खुल्न समय लाग्छ। अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ।’

उनले माइती पक्षले आरोप लगाएपछि मृतक युवतीका पति रोहणसँग पनि सोधपुछ गरिएको जानकारी दिए। ‘परिवारका सदस्यलाई सोधपुछ गर्नेसहित अन्य ढंगले पनि अनुसन्धान जारी छ,’ उनले भने।  

रिनाको हत्या भएको दाबीसहित माइत पक्षले पति रोहन, ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।

मंगलबार धनुषाको हंसपुर नगरपालिका- ६ सोनीगामास्थित माइती घर गएर रिना भाइलाई राखी बाँधेर सकुशल घर फर्केकी थिइन्। रिनाको सोही राति शंकास्पद मृत्यु भएको हो।

राति एक्कासी स्वास्थ्य खराब भएको भन्दै पतिसहित परिवारका सदस्यले रिनालाई अस्पताल पुर्याएका थिए। जलेश्वरस्थित प्रादेशिक अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। त्यसपछि शव घर फर्काइएको थियो। 

रिनाका बुवा नवल राउतले छोरीमा अहिलेसम्म कुनै रोग वा समस्या नरहेको बताए।

दाइजो कम ल्याएको भन्दै बिहे भएदेखि नै रिनालाई परिवारका सदस्यले शारीरिक र मानसिक यातना दिँदै आएको आरोपसमेत उनले लगाएका छन्।

अस्पताल पुर्याउँदा युवतीको मुखबाट रगत र घाँटीमा बिमिरा जस्ता केही खत देखिएको प्रहरीले जनाएको छ। 

गएको वैशाख १९ गते १५ लाख रुपैयाँ खर्चेर रोहण राउतसँग रिनाको विवाह गरिदिएको बुवा नवलकाे भनाइ छ।  

छोरीको बिहेमा दहेजस्वरुप साढे तीन लाख नगद, २ तोला सुन, २० तोला चाँदा, फर्निचर र फ्रिजसहितका सामान दिएको र पछि मोटरसाइकल खरिद गर्न भनेर थप साढे दुई लाख रुपैयाँसमते ज्वाइँकाे हातमा राखिदिएकाे उनले बताए।  

‘छोरीले सुख पाउली भनेर आफूले सकेजति सबै कुरा दिएको थिएँ,’ उनले भने, ‘तर निर्दयीहरुले दाइजो कम भएको निहुँमा छोरीलाई मारेरै छाडे।’

उनले पति रोहण, ससुरा वृजमोहन राउत, देवर ओमकुमार र सासू मिलेर रातदिन रिनालाई मानसिक र शारीरिक यातना दिने गरेको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad