समाज


रवि जोडिएको अर्को सहकारी सुप्रिम ठगी अनुसन्धान गर्न सीआईबीको टोली बुटवलमा

रवि जोडिएको अर्को सहकारी सुप्रिम ठगी अनुसन्धान गर्न सीआईबीको टोली बुटवलमा

फाइल तस्बिर: रवि लामिछाने र छविलाल जोशी


नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १२:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बुटवल पुगेको छ। सीआईबीका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा टोलीले सुप्रिम सहकारीको पूरक जाहेरीमा अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका हुन्। पूरक जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। 

बिहीबार जिल्ला अदालत रुपन्देहीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। अदालतले छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरूविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि मुद्दा अगाडि बढ्ने निश्चित भएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा छविलाल जोशी र रवि लामिछानेविरुद्ध पनि अनुसन्धान भइरहेको छ। कास्कीमा पक्राउ परेका जोशीलाई बुटवल लगेर प्रहरीले पहिलो चरणको बयान गराइसकेको छ। लामिछानेलाई पनि बुटवल लैजाने प्रहरीको तयारी छ। पोखरामा पनि पुरक अनुसन्धानमा सहयोग गर्न भन्दै सीआईबीको टोली खटाइएको छ। सुप्रिममा पनि पठाइसकिएको हो। 

रवि र छविलाई सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। अरु आरोपित भने बैंकिङ कारोबारमा हस्ताक्षर गर्नेहरू हुन्। रवि र छविविरुद्ध यस्तै कसुरमा चितवनको सहारा, वीरगन्जको साना पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान अगाडि बढाउने तयारी छ।

यी सहकारीबाट पनि गोर्खा मिडियामा रकम लगेर अपलचन गरेको पाइएको छ। बुटवलको सुप्रिममा १० हजार ३ सय ९१ सदस्यको १ अर्ब ७ करोड बचत रकममध्ये ७८ करोड गाेर्खा मिडियामा अपचलन गरेकाे आराेप छ।

उनीहरूविरुद्ध कास्कीमा पछिल्लोपटक बिहीबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

रविलाई यसअघि ६ दिन हिरासतमा राखिएको थियो। छवि भने असोज ६ गतेदेखि नै हिरासतमा छन्।

यता रास्वपाले भने आफ्ना सभापति सहकारी ठगीको आरोपमा पक्राउ परेपछि विरोध प्रदर्शन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad