समाज


बाढीपहिरोपछिको दुःख : गाउँ बस्नलायक रहेन

बाढीपहिरोपछिको दुःख : गाउँ बस्नलायक रहेन

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १३:३९, पाँचथर

पाँचथरको फालेलुङ गाउँपालिका–३, लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ। पहिरोले उनका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन्।

असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउँछन् । ‘गाउँले आएर गाईवस्तु सारिदिएछन्’, उनले भने।

वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन् । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । ‘एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्’, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भने, ‘हेरौँ अब सरकारले के गर्छ रु यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन।’

पूर्वी पहाडमा विसं २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देखे । अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । ‘मेरो पालि (मतान) बगाएको थियो’, उनले भने, ‘यस पटक गाउँ केही नरहने गरी पहिरो झ¥यो।’

पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् । ‘जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइनँ”, तिम्सिनाले भने, ‘छोरो चाहिँ विदेशमा छ।”

सोही वडाको शीतलपाटीको अवस्था झनै भयाबह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरु अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन्।

यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । ‘हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ’, लिम्बूले भने, ‘केही त सहयोग पाइएला कि।’

फेदाङ्वा झाँक्री समेत रहेका मानबहादुर केरुङको घरमा असोज १२ गतेअघि छोरीतर्फका एक नाति र एकजना भतिजा बस्दै आएका थिए। चारजना छोरीमात्रै भएका मानबहादुरका सबैजना छोरीहरु विवाह गरेर घर गएपछि भतिजा र नाति सहारा थिए । तर असोज १२ गते उनको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उनकी श्रीमती सुखमाया त घर फर्केर आए, भतिजा र नाति पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे।

यहाँ (शीतलपाटीमा) पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउँछन् । ‘हामी बूढाबूढी त अन्त जानलाई आर्थिक छैन । आर्थिक नभएपछि के गर्ने त? वर्तिरपर्तिर भाग्यो, बस्यो”, निराश हुँदै ७० वर्षका मानबहादुरले भने, ‘त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन।

पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । ‘दश घरपरिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबैजना बाहिर निस्कने योजनामा छौँ’, छिमेकीहरुलाई मद्दत गर्दै आएका शर्णकुमारले भने, ‘बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाई लगाएर खाने स्थिति छैन।’

उक्त गाउँलाई चारैपट्टिबाट पहिरोले घेरेको छ । कुनै पनि घरहरु सग्ला भेटिँदैनन् । यत्रतत्र पहिरो झरे पनि स्थानीयवासीको चलाखीले मानवीय क्षति भने हुन नपाएको शर्णकुमारको भनाइ छ । ‘खोला ठूलो आएपछि सबै गाउँले भेला भएर सबैतिर हे¥यौँ । पहिरो जान्छ भन्ने यकिन भएपछि समयमै सचेत हुँदा बाँच्न सफल भयौँ’, शर्णकुमारले भने । सो स्थानबाट दुई घर बसाइँ सरेर अन्यत्र गइसकेका छन्भने शर्णकुमार र उनका भाइ नजिकै मच्छेबुङमा बसेका छन्।

भान्साघर बगाउनाका साथै घर पहिरोको जोखिममा भएपछि काइलो छोराको घरमा शरण लिएर बस्दै आएका खड्गबहादुर केरुङ उमेरले ६९ पुगे । ‘एकछिन त जीउ जोगाउनु प¥यो होला नि । उता पनि पानी, यता पनि पानी । सबैतिर पहिरो झरेको छ”, खड्गबहादुरले थपे, ‘भगवान्ले यस्तै गरिल्याए । कति दिन यसरी बाँच्नुपर्ने हो थाहा छैन।’

फालेलुङ गाउँपालिका–३ का लुङपिन्ताङ र शीतलपाटी जस्तै सोही गाउँपालिका–४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङ्लिटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा परेका छन् । फेङ्लिटारका एक दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भई अन्यत्रै बस्दै आएका छन्।

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छभने दुई सय ९३ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उनले बताए । यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् । अध्यक्ष थाम्सुहाङले भने, ‘सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र?’ अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उनको भनाइ छ।

‘अहिलेसम्म विस्थापितहरुलाई सुरक्षित स्थानसम्म पु¥याउन हामी लागिपरेका थियौँ । अब दीर्घकालीन समाधानबारे सोच बनाउन थालेका छौँ’, अध्यक्ष थाम्सुहाङले भने, ‘गाउँपालिकाले मात्रै त के गर्न सकिएला र रु प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागेर जोखिममा रहेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुको विकल्प छैन।’ यसका यसका लागि पालिकास्तरमा छलफल चलिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू बताउँछन्। 

बाढीपहिरोका कारण यस गाउँपालिकामा कालोपत्रसहित ग्रामीण सडक क्षतविक्षत भएका छन्। खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad