सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दोस्रो दिन बिहीबार पनि बयान लिने क्रम जारी छ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि बयान चलिरहेको कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।
सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका हुन्।
बयान आज सकिएला?
नेपालखबरसको जिज्ञासामा न्यायाधिवक्ता लुइँटेलले भने, ‘अहिले भन्न गाह्रो छ।’
काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान सकिएपछि पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार विमानमार्फत चितवन लगिएको थियो।
पहिलो दिन मंगलबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बयान लिएर जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत फर्काइएका उनलाई बयानका लागि आज पुनः जिल्ला सरकारी वकिलको कार्यालय चितवन लगिएको हो।
यही सहकारी ठगी आरोपमा उनका साझेदार नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई पनि चितवन प्रहरीले बयान लिएर मंगलबार बिहान मात्रै पोखरा पठाएको छ।
अब रविलाई पनि बयान सकिएपछि चितवन प्रहरीले पोखरा नै फिर्ता पठाइदिने छ। अहिले त्यहाँ मुद्दा दायर गरेपछि पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ। त्यसपछि अन्य जिल्लामा पनि मुद्दा दायर हुनेछ। अभियोगपत्र अदालतमा बुझाइएपछि अदालतले पुनः प्रतिवादीहरूलाई झिकाएर बकपत्र गराउने छ।
सहरा चितवन सहकारीको बचत रकम पनि गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। यसअघि नै जीबी राईसहितविरुद्ध अभियोग दायर भइसकेको छ।
तर गोर्खा मिडियामा गएको रकमको सम्बन्धमा प्रस्ट नभएको र थप तथ्य खुलाउन आवश्यक रहेको भन्दै सरकारी वकिल कार्यालयले नै पुनः अनुसन्धानका लागि प्रहरीलाई भनेको थियो।
Shares

प्रतिक्रिया