हङकङ विश्वविद्यालय, संक्रमण केन्द्रले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै हङकङमा पनि विदेशीको आगमन रोक्न हङकङ सरकारसँग पुनः माग गरेको छ।
केन्द्रका प्रमुख माइक्रोबायलोजिस्ट डा. हो पाक लेउङले ४० भन्दा बढी देशले यस्तो प्रतिबन्ध लगाइसकेको उल्लेख गर्र्दै अब हङकङले पनि बाहिरी देशका नागरिकलाई प्रवेश निषेध गर्नुपर्ने माग बुधबार पुनः गरेका हुन्।
संक्रामक रोग विशेषज्ञ डा. होले विदेशबाट हङकङ फिर्ता आउने विद्यार्थीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनका लागि एयरपोर्टबाट सीधै होटलमा लानुपर्ने सुझाव पनि दिएका छन्।
यस्तै उनले मास्क लगाउन नमान्नेलाई यात्रामा प्रतिबन्ध लगाउन हङकङका जनतासँग आग्रह गरेका छन्।
डा। होले बुधबार भने, ‘सार्वजनिक यातायात प्रयोग गर्दा मास्क लगाउन अस्वीकार गर्ने व्यक्तिहरूलाई यात्रा गर्न प्रतिबन्ध लगाउनुपर्छ, साथै उनीहरूलाई आवास, कार्यालय तथा व्यापारिक भवनको लिफ्ट प्रयोग पनि दिन हुन्न।’
आगामी दुई हप्ता कोरोनाभाइरसविरूद्ध हङकङको लडाइँलाई ‘महत्वपूर्ण अवधि’का रूपमा चित्रण गर्दै उनले यो महामारी नियन्त्रण गर्न आक्रामक कदम चालिनुपर्ने बताए।
उनले भने, ‘हङकङका जनता भाइरस संक्रमणको शृंखला तोड्न एकजुट हुनुपर्छ र आफ्ना काम, कार्यालयमा जाँदा आउँदा मास्क अनिवार्य लगाउनुपर्छ, साथै शरीरको तापक्रम पनि जँचाउनुपर्छ।’
गत बुधबार एकै दिनमा २५ जनामा कोरोना संक्रमण देखिएको छ। विशेषगरी युरोप र बेलायतबाट हङकङ फर्किएका विद्यार्थीमा संक्रमण देखिएको हो।
हालसम्म हङकङमा कोरोनाबाट संक्रमितको संख्या १९२ पुगेको छ भने ४ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया