युक्रेनमा सैनिक हिरासतमा नौ महिना बिताएर दुई नेपाली युवक स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीस्थित एउटा एजुकेसन कन्सल्टेन्सीबाट अध्ययन भिसामा युक्रेन पुगेका दोलखाका ३९ वर्षका शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षका फुर्वा शेर्पा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
फेसबुक र टिकटकमा देखेको भिडिओ विज्ञापनलाई विश्वास गर्दा नेपालदेखि भारत, भारतदेखि माल्दोवा हुँदै युक्रेन गएका उनीहरू ९ महिनादेखि सैनिक हिरासतमा थिए। शुक्रबार नेपाल ओर्लिएका उनीहरूलाई नेपाली दूतावास जर्मनी, गैरआवासीय नेपाली संघ र युक्रेनस्थित श्रीलंकाको वाणिज्यदूतले सहयोग गरेको साम्बो शेर्पाले बताए।
फेसबुक र टिकटका युक्रेनमा अध्ययनका लागि जान मिल्ने र पैसा पनि कमाइने सन्देश दिने भिडिओले उनीहरूलाई लोभ्याएको थियो।
‘खासमा ख्याल–ख्याल जस्तै मजाक भइरहेको छ। भारतीय, नेपाली दलालहरूले टिकटक, फेसबुकमा फलानो ठाउँमा यो छ त्यो छ रोजगारको व्यवस्था छ भनेको थियो। हामीले एक ठाउँमा सम्पर्क गर्यौँ। पासपोर्टको फोटोकपी माग्यो,’ उनले भने, ‘ख्यालख्यालमा पासपोर्टको फोटोकपी मात्रै पठाइदिएका थियौँ। पैसा दिनु परेको भए, पासपोर्ट दिनुपरेको भए सोच्ने थियौँ होला। फोटोकपी हो भनेर पठाइदियौँ। केही दिनमा त एक्कासी तपाईंहरूको भिसा लाग्यो दिल्ली आउनु पर्यो भन्यो। सुरुमा त पत्याएका पनि थिएनौँ। हो नै रहेछ।’
उनीहरूले भारत पुगेपछि थाहा पाए ९० दिनको भिसा लागेको रहेछ। भिसा लागेको भनेको ९० दिनसम्म त युक्रेन नजाने भनेर नेपालमै बसेका थिए।
‘९० दिनको भिसा दिएको थियो। हामी भिसा लागेको ३ महिना नेपालमै बस्यौँ। भारतबाट तिमीहरूको जस्तो सजिलै भिसा कसैको लागेको छैन। अब तिमीहरू एक हप्ताभित्र गएनौ भने पैसा तिर्नुपर्छ भनेर करायो,’ उनले थपे, ‘अनि नेपालीहरू पनि गइरहेकै छन्। भारतीयहरू पनि गएका छन्। राम्रै होला भन्ने लाग्यो।’
उनले युद्धग्रस्त क्षेत्रमा जान डर हुन्छ भनेर दलालसमक्ष भन्दा युद्ध रुसको सीमानातिर भएको आफूहरुलाई अन्य युरोपियन देशको सीमातर्फ लैजान लागेको बताएपछि जान तयार भएको पनि सुनाए।
‘युद्ध रुस र युक्रेनको सीमामा हो। तिमीहरू युरोपियन क्षेत्रमा हो भन्यो। अनि नेपालमा पनि खान लाउन मात्रै हो जाउँ न त भनेर ६ लाख भारतमा बुझाइयो,’ उनले थपे, ‘अनि युनिभर्सिटीहरूमा फि तिर्नुपर्छ भनेर दुई लाखको चाहिँ डलर साटेर लिएर गइयो।’
भारत हुँदै युक्रेन पुगेपछि पढ्न भनेर गएको विश्वविद्यालयमा उनीहरूलाई किन ढिलो आएको भनेर जरिवाना तिरेर भिसा थप गर्नुपर्ने सूचना सुनाइयो।
उनले भने, ‘उता गएपछि तपाईंहरू किन ढिलो आएको। ४५ दिनअघि आउनुपर्ने अब पाँच दिन बाँकी छ भिसाको। फाइन तिरेर बनाउनुर्छ भन्यो। दुई जनाले गरेर १५ सय डलर तिर्नुपर्छ भन्यो। जेजे गर्ने हो गर्नु भन्यौँ।’
त्यसको भोलिपल्ट होस्टेलको कोठामा कति बस्नु भनेर दुईजना बाहिर निस्किए। उनीहरूको पासपोर्ट थपका लागि विश्वविद्यालयमा नै दिएकोले विद्यार्थी हो भन्ने परिचय खुल्ने कागजात लिएर घुम्न निस्किएका थिए।
‘होस्टेलमा कति बस्ने भनेर एक दिन विद्यार्थी कार्ड लिएर बाहिर घुम्न गयौँ। एक ठाउँमा बाटोमा चेक गर्यो। त्यहाँ यसो कार्ड हेर्यो छोड्यो। अनि त्यहाबाट एउटा ट्रेन चढेर अर्को ठाउँमा घुम्न गइयो,’ उनले भने, ‘बाटोमा गाउँ आयो। नेपालकै जस्तो गाउँ रहेछ। भेडा बाख्रा रहेछ हेर्न जाउँ न भनेर गएको सेना पेट्रोलिङ गर्दै आएको रहेछ। हेर्यो भिसा छैन। विद्यार्थी कार्ड मात्रै।। अनि हामीलाई उनीहरूकै गाडीमा हालेर लग्यो। भोलिपल्ट अदालत लगेर डिपोर्ट हानिहाल्यो।’
त्यहाँ सेनाले आफूहरुलाई कुनै दु:ख भने नदिएको उनले सुनाए।
‘हिरासतमा रहेका बेला युक्रेनको सेनाले पटक पटक नेपाल पठाउन प्रयास गरेको थियो,’ उनले भने, ‘हामीलाई हप्ताको दुई दिन फोनमा कुरा गर्न दिइएको थियो। हामीले शारीरिक यातना भोग्न नपरे पनि मानसिक यातना भने भोग्नुपर्यो।’
‘युद्धले गर्दा युक्रेनमा काम गर्नेको अभाव छ। त्यहाँका कामदारहरू काम छोडेर भागेका छन्। मासिक १ लाखभन्दा धेरै कमाइ हुन्छ भनिएको थियो,’ शेर साम्बोले भने, ‘सुरक्षित तरिकाले कमाइ हुन्छ भने किन नजाने भनेर गएको हो। तर हामी यसरी फस्न पुग्यौं। धन्न बाँचेर आइयो। ठूलै युद्ध जितेजस्तो भएको छ। कोही नेपाली नजानु होला।’
तेह्रथुमका फुर्वाले अहिले युक्रेन जानु भनेको पिँजडाको सुगा हुनु जस्तै भएको सुनाए।
‘अहिले युक्रेन जानु भनेको सुगाको पिँजडा हुनु रहेछ,’ उनले भने, ‘जहाँ पुगे पनि बाहिर निस्कन धेरै कठिन रहेछ। अझै पनि भारतको बाटो हुँदै नेपालीहरू जाँदै गरेका छन् रे।
उनीहरूको भिसामा युक्रेन देख्नेबित्तिकै फिर्ता पठाइदिने व्यवस्था सरकारले गरिदिनुपर्यो।’
उनीहरूले सहयोग गर्नेहरूलाई पनि सम्झिए– ‘भाग्यवस हामी अहिले आउन सक्यौँ। भिसा सकिने सात दिनमा हिरासतमा पुगेका थियौँ। त्यहाँ हामीलाई राम्रो चाहिँ गर्यो। नेपाल दूतावास, एनआरएन र श्रीलंकाको कन्सुलरको सहयोगले यहाँ आइयो। हामीसँगै एकजना भारतीयको पनि उद्धार भयो।’
Shares

प्रतिक्रिया