नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाविरुद्ध फेसबुकमा जथाभावी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार आईजीपी थापालाई एमालेसँग जोडेर तथानाम आरोप लगाउँदै फेसबुकमा लेखेका ललितपुर ठेचोका कमल विष्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनी केशरबहादुर विष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालका ललितपुर जिल्ला संयोजक हुन्।
उनले फेसबुकमा आईजीपी थापालाई ‘एमालेको स्थायी समिति सदस्य’ भएको तथा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट हटाउनुपर्ने लेखेका छन्।
यसपछि उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। हाल उनलाई टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको छ।
यसैबीच कमलका दाइ विराज विष्टले भने स्टाटस लेखेको भरमा आफ्ना भाइलाई प्रहरीले मध्यराति पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।
विराजले फेसबुकमा लेखेका छन्, ‘हिजो राति मध्यरातमा सुतिरहेको अवस्थामा घर घेरा हाली ललितपुर जिल्ला राष्ट्रिय शक्ति नेपालका संयोजक कमल विष्टलाई आईजीपीको विषयमा फेसबुक पोस्ट गरेको भरमा थुना चलान गरेको छ। यसको म घोर भर्त्सना गर्दछु।’
मंगलबारै दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा आयोजना गरेको सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आईजीपी थापालाई एमालेको भ्रातृ संगठन ‘युवा संघको सहअध्यक्ष’ भनी टिप्पणी गरेका थिए।
यसअघि चैत १५ गते राप्रपा नेतासहितका राजावादीले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा २ जना मारिएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जनालाई हिरासतमा राखेको छ।
उनीहरूलाई मंगलबार मात्र अदालतले थप १५ दिनदेखि २० दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीले चैत १५ को हिंसात्मक प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंसहित घटनामा संलग्न अन्यलाई पनि खोजिरहेको छ।
त्यसो त उक्त प्रदर्शनमा आईजीपीविरुद्ध स्टाटस लेख्ने कमल विष्ट पनि सहभागी भएका थिए।
Shares

प्रतिक्रिया