कोरोना भाइरस (कोभिड-१९) संक्रमित बाग्लुङकी युवतीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन्।
२२ वर्षीया ती युवतीको धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसोलेसनमा उपचार भइरहेको छ। उनलाई गएको शनिबार कोरोना संक्रमण पुष्टी भएको थियो।
ती युवतीको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिए।
‘आइसोलेसनमा बसेदेखि उनले खाना खान मन गरेकी थिइनन्,’ पोखरेलले भने, ‘तर सोमबार देखि भने खाना खान थालेकी छन्। मनोवल पनि राम्रो छ।’
स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षणको तयारी अस्पतालले गरेको छ। उनको सोमबारै स्वाब निकालिएको छ।
उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको जहाजमार्फत नेपाल आएकी थिइन्। उनी कठमाडौँबाट जहाजमा पोखरा र त्यहाँबाट स्कार्पिओमा घर पगेकी थिइन्।
उनी आमालाई भेट्न फ्रान्स गएको खुलेको छ। टेकुमा उपचार गराइरहेकी काठमाडौँकी कोरोना संक्रमित युवती र उनी एउटै जहाजमा कतारबाट नेपाल फर्किएका थिए।
Shares

प्रतिक्रिया