समाज


नेपालमा कोरोना परीक्षण अत्यन्त कम, ७१ दिनमा मात्र ११ सयको जाँच

नेपालमा कोरोना परीक्षण अत्यन्त कम, ७१ दिनमा मात्र ११ सयको जाँच

यज्ञराज जोशी
चैत २०, २०७६ बिहिबार १०:२१,

‘देशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाइएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन आयोजना गर्ने पत्रकार सम्मेलनमा बोल्नेहरुले नछुटाउने वाक्य हो यो।

बुुधबारको नियमित पत्रकार सम्मेलनमा पनि मन्त्रालयका प्रवक्ता विकास देवकोटाले त्यही वाक्य दोहोर्‍याए। दुई दिनअघि मात्रै सुरु गरिएको एपबाट समेत मानिसहरुले आफूलाई कोरोना लागेनलागेको स्व–परीक्षण गरिरहेको उनको भनाइ थियो।

‘एपमा २ हजार ३ सय जनाले लक्षण रिपोर्टिङ गरेका छन्। जसमध्ये १२ जनाको ज्वरो र खोकीको लक्षण भएकाले सम्बन्धितको नमुना परीक्षण गर्छौँ,’ उनले भने, ‘यसले नमुना परीक्षणको दायरा बढाउन मद्दत गरेको छ।’

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको शृंखला तोड्न व्यापक परीक्षणमा जोड दिएको छ। तर, नेपालमा कोरोना परीक्षणको संख्या अत्यन्त न्यून देखिएको छ। सरकारले परीक्षणको दायरा फराकिलो बनाएको दाबी गरेपनि अत्यधिक जोखिमयुक्त क्षेत्रमा पनि साह्रै कम परीक्षण भएका छन्। संक्रमितसँगै कयौँ दिन बिताएका परिवारका सदस्यको परीक्षणमा समेत अनावश्यक ढिलाइ गरिएको छ।

नेपालमा पहिलो पटक पुस २४ मा चीनको वुहानबाट नेपाल फर्केका विद्यार्थीमा कोरोना भाइरस देखिएको थियो। ज्वरो र खोकीको समस्या लिएर पुस २८ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए। त्यसको १० दिनपछि माघ ९ मा सार्वजनिक रिपोर्टमा उनी कोरोना संक्रमित देखिएका थिए।

पहिलो संक्रमित देखिएयताको ७१ दिनमा नेपालमा जम्मा १ हजार १ सय ३३ जनाको मात्रै परीक्षण भएको छ। यो तथ्यांकमा चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जना विद्यार्थी, विमान चालकदलका सदस्य र तिनको क्वारन्टिनमा खटिएका स्वास्थ्यकर्मीको संख्या समेत संलग्न छ।

चैत १४ गते धनगढीमा भेटिएका कोरोना संक्रमितको परिवारको नमुना संकलन ५ दिनपछि मात्रै गरिएको थियो। यसले नेपालको परीक्षणको वास्ताविकता देखाएको चिकित्सकहरु बताउँछन्।

‘संक्रमितले दुईतीन दिन सँगै बिताएका परिवारका सदस्यको समेत समयमा नमुना संकलन गरिदैँन भने सरकारले कोरोनो परीक्षणको दायरा बढाइरहेको छ भन्ने कुरामा कसरी विश्वास गर्ने आधारै छैन,’ एक चिकित्सकले नेपालखबरसँग भने।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा भने आवश्यकताअनुसार सबैको परीक्षण हुने बताउँछन्।

‘डब्लूएचओको मापदण्डअनुरुप संक्रमितको सम्पर्कमा रहने परिवारका सदस्यहरु तथा अन्य नजिकका सम्पर्कमा रहेकाहरुको खोजी गरिन्छ। क्वारेन्टाइनमा राखिन्छ र आवश्यकता अनुसार परीक्षण गरिन्छ,’ उनले भने, ‘धनगढीको अस्पतालले बुधबार नै संक्रमितको परिवारसहित १२ जनाको नमुना लिइसकेको जनाएको छ।’

प्रदेशमा परीक्षणको अवस्था झनै कमजोर
प्रदेश २ का सबै जिल्लाको सीमा भारतसँग जोडिएको छ। सरकारले लक डाउन घोषणा गरेपनि चोर नाकाको प्रयोग गरेर फाट्टफुट्ट आवतजावत भइरहेको छ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यस प्रदेशमा बुधबारसम्ममा मात्र १२ जनाको स्वाब परीक्षण गरिएको छ। जसमा ८ जना संक्रमित नरहेको नतिजा आइसकेको छ भने ४ जनाको रिपोर्ट आउनै बाँकी छ।

प्रदेश २ मा सरकारले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना परीक्षणका लागि डेडिकेटेड अस्पताल तोकेको छ। तर, परीक्षण दर भने निकै कम रहेको नारायणी उपक्षेत्रीय अस्पतालका डा. मदनकुमार उपाध्यायले बताए।

‘डब्लूएचओले पनि ट्रयाकिङ, ट्रेसिङ र टेस्ट नै भन्छ। जाँच बढाऊ भनेको भन्यै छ,’ उपाध्यायले नेपालखबरसँग भने, ‘जति बढी जाँच भयो त्यति बढी स्थिति स्पष्ट हुन्छ। जाँच नै गरेनौं भने वास्तविक अवस्था थाहा हुँदैन। अहिले जाँच न्यून भएकै हो। जाँच बढाउनैपर्ने हो।’

भारतसँगको निकटता र लकडाउनअघि धेरै नागरिक खाडी मुलुकबाट फर्केकाले प्रदेश २ मा जोखिम बढी भएको उनी बताउँछन्।

‘अहिलेसम्म नेपालमा जति पनि पोजिटिभ केस देखिएका छन्, ती सबै विदेशबाट आएका छन्,’ उनले भने, ‘यहाँ पनि लकडाउनअघि दैनिक विदेशबाट काम गरेर आउनेहरु धेरै थिए। यो रोगको लक्षण केहीमा नदेखिने पनि हुन्छ। बाहिरबाट आएका पनि हिँडिरहेका छन्। सबै क्वारेन्टाइनमा पनि बसेका छैनन्। जाँच पनि भएको छैन। त्यसले जोखिम बढाएको छ।’

सरकारले आइतबार चीनबाट ल्याएको कोरोना परीक्षण गर्ने पीसीआर मेसिन प्रदेश २ को जनकपुरमा पठाएको छ। तर, हालसम्म जडानकार्य सम्पन्न भएको छैन। प्रादेशिक प्रयोगशालाका प्रमुख युगलकिशोर यादवले बिहीबार बेलुकासम्म जसरी पनि सञ्चालनमा ल्याउने बताए।

‘अहिले ७० प्रतिशत काम सकिएको छ। बेलुकासम्म जसरी पनि परीक्षण सुरु गर्ने तयारीमा लागेका छौं,’ बिहीबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘पहिले काठमाडौं नमुना पठाउन गाह्रो हुन्थ्यो। मेसिन, म्यानपावर पनि थिएन। अब प्रदेशबाट बढी संख्यामा नमुना ल्याएर परीक्षण गर्छौ।’

मेसिनले घण्टामा एउटा नमुना जाँच्न सक्ने क्षमता भएको र आवश्यकता अनुसार २४सै घण्टा परीक्षण गरिने उनले बताए।

काठमाडौंबाहिर पहिलो कोरोना संक्रमित भेटिएको सुदूरपश्चिममा हालसम्म ४७ जनाको मात्रै स्वाब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। हालसम्म ३१ जनाको रिपोर्ट प्राप्त भएकोमा ३० जनामा निगेटिभ र एक जनामा पोजिटिभ भेटिएको छ।

संक्रमित युवा हाल सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचार गराइरहेका छन्। सुदूरपश्चिमका दुई नाका भारतसँग जोडिएको र अधिकांशको रोजगारको गन्तव्य भारत भएकाले यस क्षेत्रमा सम्भव भएसम्म परीक्षण बढाउनुपर्ने अस्पतालका चिकित्सक जगदीश जोशी बताउँछन।

‘पछिल्लो समय १ लाख ४३ हजार मानिसहरु भारतबाट सुदूरपश्चिममा भित्रिएको तथ्यांक छ,’ उनी भन्छन्, ‘उनीहरुमध्ये कोही संक्रमित भए र अरुलाई सारे भने स्थिति भयावह हुनसक्छ। त्यसैले सम्भव भएसम्म शंकास्पद बिरामीको परीक्षण गरे राम्रो हो।’

धनगढीमा पठाइएको एउटा कोरोना जाँच गर्ने पीसीआर मेसिन बिहीबार साँझसम्म प्रयोगमा आउने विश्वास व्यक्त गरे।

प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारबाटै कोरोना परीक्षण थालिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना परीक्षणको ४ दिनसम्म प्रदेश १ मा ४० वटा नमुना परीक्षण भएका छन्। जसमा ३० जनामा कोरोना देखिएको छैन भने १० जनाको रिपोर्ट आउन बाँकी छ।

अस्पतालका निर्देशक प्राध्यापक डा. गौरीशंकर साहले हालसम्म आइपुगेका सबै नमुना परीक्षण भएको बताए।

‘विभिन्न जिल्लाबाट आएका नमुनाहरु हामी परीक्षण गरेका छौं,’ उनले भने, ‘अहिले दिनमा १२ वटा नमुना परीक्षण भइरहेको छ। मेसिनको क्षमता त्यति नै भनेको छ। थप नमुना आउने अवस्था भयो भने अपग्रेड गर्न मिल्छ।’

साहले विदेशबाट आएका मान्छेहरु खुल्न नचाहेर जाँच कम भएको हुनसक्ने आशंका व्यक्त गरे।

गण्डकी प्रदेशको पोखरामा मंगलबारबाट कोरोना परीक्षण सेवा सुरु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको छैन भने एक जनाको रिपोर्ट आउन बाँकी छ।

यस्तै बागमती प्रदेशमा पनि बिहीबारदेखि कोरोना परीक्षण सुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार बिहानदेखि संकलित नमुनाको कोरोना परीक्षण सुरु भएको जनाएका हुन्। उनले ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमुना परीक्षण गर्न सकिने उल्लेख गरेका छन्।

यता कर्णाली प्रदेशको सुर्खेतमा पनि बिहीबारबाट नै कोरोना परीक्षण थालिएको छ। वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालको प्रयोगशालामा पीसीआर मेसिन जडान गरिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए।

स्वास्थ्यमन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा. रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा सुर्खेतमा खटाएको छ। उनले एक दिनमा १० जना जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमुनाको नतिजा दिने क्षमता मेसिनसँग भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad