एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौँमा आयोजना गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ मा भाग नलिन अपिल गरेको छ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले एकता महाधिवेशन गरिसक्दा पनि एनआरएनएका दुई समूहबीचको विवाद कायम देखिएको हो।
एनआरएनए आईसीसीका नवनिर्वाचित महासचिव बी आर लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महेश कुमार श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेकाले वातावरण बिथोल्ने र आपसी विश्वासमा आँच पुर्याउने कुनै पनि गतिविधि नगर्न भनिएको छ।
‘एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपश्चात् महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइपश्चात सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको पुष्टि गर्दछ,’ वक्तव्यमा भनिएको छ।
विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावनाको सम्मान गर्दै, एकता र सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग र समर्थन गर्न पनि महासचिव लामाले अपिल गरेका छन्।
Shares

प्रतिक्रिया