समाज


हावाहुरीले सर्लाहीमा ६ जना घाइते, सयौँ घरगोठमा क्षति

हावाहुरीले सर्लाहीमा ६ जना घाइते, सयौँ घरगोठमा क्षति

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८२ शनिबार १४:७, सर्लाही

शुक्रबार साँझ आएको हुरीका कारण सर्लाहीमा छ जना घाइते भएका छन्। हुरीका कारण घर तथा सवारी साधनमासमेत क्षति पुगेको छ।

शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो। हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

उनका अनुसार हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका–२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते भएका छन्। 

उनको ढाडमा चोट लागेको छ। घाइते क्षेत्रीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ। बारीमा काम गरिरहँदा एक्कासी आएको हुरीले बकाइनोको रूख भाँचिएको थियो।

हुरीले उडाउँदा हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षकी सुमीदेवी घरको छतबाट लडेर घाइते भएकी छिन्। उनको हात, मुख र आँखामा चोट लागेको प्रहरीले जनाएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ।

हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा हरिवन नगरपालिका–५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि घाइते भएका छन्। उनीहरूलाई हरिपुर नगरपालिका–२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

हुरीको उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका–५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते भएको प्रहरीले जनाएको छ। हुरीको समयमा आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेका उनलाई कठघराको जस्ता उडेर लागेको थियो। उनको दायाँ आँखामा चोट लागेको छ। घाइते खातुनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको हो।

हुरीले सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँको चोकमा रहेको होटलमा क्षति पुग्दा रु ६० हजार मूल्य बराबरको क्षति भएको छ। जिल्ला प्रहरीका प्रवक्ता राईका अनुसार सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाएका थिए। उक्त घरमा रामनगर गाउँपालिका–७, निवासी उमेश साहले भाडामा होटल सञ्चालन गरिरहेका थिए।

हुरीले रूख लडेर च्याँपिदा हरिवन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलका क्षति पुगेको छ। रुख ढल्दा इलाका प्रहरी कार्यालयका नाममा रहेको बा एएसी ३४०९ नम्बरको मोटरसाइकल र अनुसन्धानका लागि कार्यालय परिसरमा राखिएको नम्बर नखुलेको थप दुई वटा मोटरसाइकलमा क्षति पुगेको हो।

पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ। हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश–०४–००१ च ०२७७ नम्बरको पिकअप गाडी सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते भएको प्रहरीले जनाएको हो। उनको हातको औँलामा चोट लागेको छ। घाइते महतोलाई उपचारका लागि लालबन्दीस्थित स्वास्थ्य संस्थामा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad