राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शिलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताए।
उनले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए। गुणस्तरीय प्राविधिक र प्रतिष्पर्धाको पक्षलाई ध्यान दिइ भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रूपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रूपान्तरणमा शिक्षाको भुमिका महत्वपूर्ण हुने बताए। सभ्य र सुसंस्कृति आधुनिक समाज निर्माणमा मात्र नभइ राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको उनको भनाइ छ।
राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासत प्रणाली अवलम्वन गरेर तिब्र विकासको बाटोतर्फ उन्मुख रहेको बताए। सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकास चरणलाई अघि बढाउनु र तदनुकुलको शिक्षा दिन आवश्यक रहेको जिकिर गरे।
Shares

प्रतिक्रिया