समाज


त्रिविको उपकुलपति बन्न १२ जनाले बुझाए ‘बायोडेटा’, यी हुन् प्रमुख दाबेदार

तर, सर्च कमिटीले सुरु गर्न सकेन प्रक्रिया
त्रिविको उपकुलपति बन्न १२ जनाले बुझाए ‘बायोडेटा’, यी हुन् प्रमुख दाबेदार

नन्दबहादुर सिंह, खड्ग केसी र उपेन्द्र कोइराला


प्रज्ञा तिम्सिना
असार २, २०८२ सोमबार २०:२७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया ठप्प छ। उपकुलपति सिफारिसका लागि गठन भएको सिफारिस समितिले छलफल समेत अघि बढाएको छैन।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए। 

उपकुलपति छनोट समिति गठन भएको १ महिनासम्म पनि शिक्षा मन्त्रालयले बैठक बोलाएका छैनन्।  तर, उपकुलपति गठन गर्ने समिति गठन भएपछि आकांक्षीहरू भने शिक्षा मन्त्रालय धाउन थालेका छन्।

‘आकांक्षीहरूको नाम आइरहेको छ। शिक्षामन्त्री रघुजी पन्तलाई भेट्न आउनेहरू बढेका छन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीलाई भेटेर आफनो कार्ययोजना सुनाउने, बायोडेटा बुझाउनेहरू बढ्न थालेका छन्।’

गत चैत्र १५ गते उपकुलपति पदबाट केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद खाली छ। बरालले राजीनामा दिएपछि कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २ गते उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा  खड्ग केसीलाई दिएका थिए। प्राडा केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको थियो। उनले कार्यभार सम्हालेको नै दुई महिना भइसक्यो। 

को–को छन् दाबेदार? 
शिक्षामन्त्रीको सचिवालयले हालसम्म उपकुलपतिका १२ जना आकांक्षीहरूले बायोडेटा बुझाएको जानकारी दियो।

‘१२ जनाको बायोडेटा र कार्ययोजना संकलन गरेका छौँ। सर्च कमिटी गठन भएपछि बायोडेटा बुझाउन आइरहनु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयले उपकुलपति बनाउन कुन विधि प्रयोग गर्ने भन्ने निर्णय नभएकाले बायोडेटा बुझाउनेहरू आधिकारिक सूचनाको आधारमा आउनुभएको हैन। तर, आउनेहरू त्रिविमा कार्यरत पूर्वउपकुलपति र पूर्वपदाधिकारीहरू नै हुनुहुन्छ।’ 

उपकुलपतिका पहिलो दाबेदार निमित्त उपकुलपति प्राडा खड्ग केसी नै हुन्। रेक्टरका रूपमा झण्डै १३ महिना काम गरेका केसी अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा छन। उनीले विभागीय नेतृत्व गरेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग निकै सफल पनि मानिन्छ। स्रोतका अनुसार निमित्त उपकुलपति केसी उपकुलपतिका लागि प्रधानमन्त्रीसँग सम्बन्ध विस्तार गरिरहेका छन्। 

शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार यो सूचीमा मध्यपश्चिम विश्वविद्यालय पूर्वउपकुलपति उपेन्द्र कोइराला पनि छन्। प्रधानमन्त्री कार्यालयको स्रोतका अनुसार उनले धेरैपटक प्रधानमन्त्रीसँग भेटिसकेका छन्।

कोइरालाको पृष्ठभूमि विवादित छ। विश्वविद्यालयपछि उनी २०७७ मा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष पनि बन्न खोजेका थिए। तर, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका सम्धी समेत रहेका उनी विवादमा परेपछि अध्यक्ष बन्न पाएनन्। त्यसपछि सञ्चालक समिति सदस्यबाट समेत कोइरालाले राजीनामा दिएका थिए।

शिक्षामन्त्रीलाई भेटेर बायोडेटा बुझाउनेमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह पनि छन्। सिंहले त्रिवि आफनो कार्यक्षेत्र भएकाले उपकुलपति बन्ने आफनो चाहना अनुसार मन्त्रीलाई भेटेको बताए।

‘शिक्षा मन्त्रीलाई भेटेर उपकुलपति बन्ने चाहना राखेको छु। त्रिविमा लामो समय काम गरेको र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति सम्हालेका कारण मसँग अनुभव पनि छ। मन्त्रीलाई भेटेर बायोडेटा बुझाएको छु,’ उनले बताए। 

त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेती र मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी पनि आकांक्षी हुन्।

तर, समितिले उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाएको छैन। कुलपति एवं प्रधानमन्त्री ओलीले प्रक्रिया अगाडि बढाउन निर्देशन नदिएकाले शिक्षामन्त्रीले छनोट समितिको छलफल नराखेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

खुला प्रक्रियाबाट छान्ने कि सिधै नियुक्ति गर्ने भन्ने निर्णय नभएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए।

‘प्रधानमन्त्री ओली सिधै नियुक्त गर्ने योजनामा हुनुहुन्छ भन्ने सुन्नमा आएको छ। सर्च कमिटीले प्रधानमन्त्रीलाई सिधै नाम सिफारिस गर्ने तयारी गरेको जानकारी पाएका छौँ,’ उनले भने। 

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ मा समितिको सिफारिसमा कुलपतिबाट उपकुलपतिको नियुक्ति हुने उल्लेख छ।

‘विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस पेस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट उपकुलपति नियुक्ति हुनेछ,’ सो दफामा लेखिएको छ।

यही नियमको आधारमा सिधै तीनजनाको नाम सिफारिस गर्न खोजिएको हो। त्रिविको यो नियमअनुसार सर्च कमिटीले सिधै नाम सिफारिस पनि गर्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad