समाज


‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएसँगै नेपालमा कोरोना महामारी टरेको हो? यसाे भन्छ राेग नियन्त्रण महाशाखा

‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएसँगै नेपालमा कोरोना महामारी टरेको हो? यसाे भन्छ राेग नियन्त्रण महाशाखा

नेपालखबर
चैत २७, २०७६ बिहिबार ३:८,

नेपालमा कोरोना संक्रमित ८ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसारै सम्पन्न भएको सरकारले जनाएको छ।

संक्रमित व्यक्तिसँग भौतिक सम्पर्क गरेका/भएका व्यक्तिको खोजी गर्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोनो संक्रमण रहेको पुष्टि भएका आठै (नेपालमा कूल संक्रमितको संख्या ९ भए पनि १ जना पहिल्यै निको भइसकेकाले) जनाको कन्ट्याक्ट ट्रेसिङ डब्ल्यूएचओकै मापदण्डअनुसार पूरा भएको जानकारी दिएका हुन्।

यसको अर्थ अब नेपालमा दोस्रो चरणमा रहेको कोरोना महामारी तेस्रो चरणमा प्रवेश गर्ने खतरा टरेको हो?

बिहीबार बिहान नेपालखबरले राखेको यो प्रश्नमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेको भनाइ यस्तो छः

करिब-करिब हो भन्दा हुन्छ। किनकि कोरोना संक्रमित ८ जनाको कन्ट्याक्ट ट्रेसिङ अर्थात् उनीहरूसँग भौतिक सम्पर्क गरेका परिवारजन, आफन्त, छिमेकी, यात्रु जति थिए, ती सबै पहिचान गर्ने काम सकिएको छ। 

अब एक हदसम्म नेपाल अब कोरोना महामारीको दोस्रो चरणबाट तेस्रो चरणमा जाने जोखिम टरेको भन्न सकिन्छ। तर चिन्ता कहाँ छ भने भारतीय सीमाबाट जुन संख्यामा मान्छे नेपाल भित्रिएका छन्, तिनको अवस्था के छ भन्ने हो।

उनीहरूको पनि खोजी गर्ने, क्वारेन्टिनमा राख्ने क्रम चलिरहेको छ। अहिले नेपालमा १० हजारजति मानिस क्वारेन्टिनमा छन्।नमुना संकलन भइरहेको छ। रिपोर्ट आउने क्रम पनि जारी छ। मलाई लाग्छ- अबको एक हप्तामा यसको पनि टुंगो लाग्छ।

यस्तै यो ८ जनाको कन्ट्याक्ट ट्रेसिङमा पनि एउटा ग्यापचाहिँ के रह्यो भने धनगढीका दुई संक्रमित, जो बम्बई र उत्तराखण्डबाट आए, तिनलाई सीमाबाट त प्रहरीले सीधै क्वारेन्टिनमा लिएर आएको हो। नेपालमा उनीहरूको सम्पर्कमा कोही जान पाएनन्।

तर चिन्ताको कुरा के रह्यो भने उनीहरू बोर्डरसम्म कुन रेलमा आए, कुन डिब्बामा बसे, त्यो कुराचाहिँ निकै खोजी गर्दा पनि अहिलेसम्म पत्ता लागेको छैन। यतिचाहिँ ग्याप रहेको छ।

काठमाडौं त पूरै सुरक्षित
काठमाडौं त पूरै सुरक्षित भइसकेको छ। किनभने चैत ४ गते विमानमार्फत भित्रिएका दोस्रो संक्रमित आएको पनि आज २० दिनभन्दा बढी भइसक्यो।

डब्ल्यूएचओको मान्यताअनुसार कोही संक्रमित भएको भए सामान्यतया १४ दिनमा लक्षण देखिन्छ। त्यस्तो अहिलेसम्म देखिएको छैन।

यस हिसाबले काठमाडौं त अब पूरै सुरक्षित भइसक्यो भन्दा पनि हुन्छ।

जोखिममा तराई
चिन्ता अब तराईको हो। जहाँबाट नेपाल भित्रिने मानिसको जुन थ्रो छ, त्यसमा चाहिँ हामीले निकै कडाइ गर्न जरुरी छ।सरकारले गरिरहेको पनि छ।

अर्को कुरा, नेपालका सीमा नजिक रहेका भारतका केही राज्यमा कोरोना संक्रमण हुने जुन गति छ, त्यसले पनि हामीलाई अलिकता जोखिम देखिन्छ।

यीलगायत कुरामा हामी सचेत भयौं र सीमा क्षेत्रमा निगरानीलाई कडाइ गर्‍यौँ भने मलाई लाग्छ( नेपाललाई कोरोना महामारीको तेस्रो चरणमा प्रवेश गर्नबाट रोक्न सक्छौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad