समाज


८ वटा पालिका रहेको लमजुङमा एउटा मात्रै दमकल

जनप्रतिनिधिले आफूलाई सुविधायुक्त गाडि किने, दमकल किनेनन्
८ वटा पालिका रहेको लमजुङमा एउटा मात्रै दमकल

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार ७:५४, काठमाडौँ

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ। आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ।

आगलागीका घटना जति बेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीसहर नगरपालिकामा मात्र दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार ठुलो आगलागी भएका बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेका छन् । यसरी एउटै दमकल अन्य पालिकाले पनि प्रयोग गर्दा आगलागीका घटना तत्काल नियन्त्रण गर्न समस्या हुने हुँदा अन्य पालिकाले दमकल खरिद गरे आगलागीबाट हुने जनधनको सुरक्षामा मद्दत पुग्ने थियो। 

स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मर्स्याङ्दी गाउँपालिकाका स्थानीय अनिल गुरुङले बताए। सुन्दरबजार नगरपालिकाका स्थानीय अमृता घिमिरेले जिल्लाकै दोस्रो ठुलो बजार रहेको यस पालिकामा आगलागी हुँदा दमकल नभएका कारण समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको र पालिकाले दमकल खरिद गरी आगलागी हुँदा समयमै उपलब्ध गराउनुपर्ने बताए।

अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका अधिकांश प्रमुख तथा उपप्रमुखका लागि सुविधायुक्त सवारीसाधन भने छन्।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँ आगलागीका घटना विशेष गरी गर्मी याममा बढी हुने गरेका र आगलागीका बेला दमकल बेँसीसहरकै मगाउने गरेको बताए। पालिकाका अधिकांश भागमा दमकल पुग्ने सडक नभएकाले समस्या भइरहेको उनको भनाइ छ। 

बेँसीसहरको दमकल मगाउने गरे पनि केही आगलागी हुँदा बेँसीसहरबाट आउँदा समय लाग्छ। आगलागीका घटनामा दमकलको प्रयोग महत्त्वपूर्ण हुने भए पनि भौगोलिक समस्याका कारण खरिद नगरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । जिल्लामा सामान्य आगलागी हुँदा दमकलबिना नै प्रहरीले आगो निभाउने गरेका छन्। ठुलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad