भारतमा लगेर मिर्गौला चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगेको छ।
सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौं र काभ्रेबाट पक्राउ परेका ब्युरोले जनाएको छ।
ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले ३ जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि अदालत लगिएको बताए।
‘मिर्गौला तस्करीको आरोपमा काभ्रेका राज कुमार परियार, समिर परियार, र नुवाकोटका राकेश परियारलाई म्याद थपका लागि लगेका छौँ। पक्राउ परेका थप एकजनामा अनुसन्धान भइरहेको छ,’उनले भने।
३७ वर्षीय भुजेललाई रोजगारीको प्रलोभन देखाई भारत लगेर मिर्गौला चोरी गरेको आरोपमा ब्युरोले अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट गिरोहले प्रत्येक व्यक्तिलाई ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्याउने गरेका थिए।
आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई नै लक्षित गरी यो धन्दा चलाएको पाइएको छ।
Shares

प्रतिक्रिया