समाज


चौकीमा प्रहरी बस्न छाडेपछि भक्तपुरका युवाले सुरु गरे रात्रिगस्ती

चौकीमा प्रहरी बस्न छाडेपछि भक्तपुरका युवाले सुरु गरे रात्रिगस्ती

नेपालखबर
भदौ २९, २०८२ आइतबार ७:१२, भक्तपुर

रात चकमन्न हुन्छ । सबैतिर सन्नाटा छाउँछ । सबै नागरिक सुत्छन् तर सिरुटारका युवाहरू भने उठ्छन् । आफ्नो गाउँ र टोलवासीलाई सुरक्षित राख्न, चोरी डकैटीबाट बचाउन यहाँका युवाहरू आफैँ गस्ती गर्न थालेपछि यहाँका सिङ्गो बस्ती सुतिरहँदा युवाहरू भने उठेर रातभरि गस्ती गर्ने गरेका छन्। 

सूर्यविनायक नगरपालिका–१ सिरुटारका युवाहरूले सिरुटार उपयोगी चोकदेखि माथिल्लो सिरुटार थापागाउँसम्म करिब पाँच किलोमिटर आसपास क्षेत्रमा विगत तीन दिनदखि रातभरि गस्ती सुरु गरेका स्थानीय अनुप राउतले जानकारी दिए। रातको समयमा गाउँगाउँमा अपरिचित र घरेलु हतियार बोकेका व्यक्ति प्रवेश गरेका भन्दै भक्तपुरका गाउँगाउँमा, वडावडामा स्थानीय युवाले रातभरि गस्ती गर्न सुरु गरेका उनले बताए। 

करिब २५ युवाले चोकचोकमा दस्ता बनाएर रातभरि हातमा लाठी बोकेर गाउँको सरक्षण गर्न खटिएका सिरुटार उपयोगी चोकका स्थानीय सचिन श्रेष्ठले जानकारी दिए। प्रहरी नियमित रूपमा आफ्नो ड्युटीमा फर्किन नसकेको र गस्ती पनि गर्न नसकेको अवस्थामा गाउँमा नयाँ व्यक्तिको आवतजावत धेरै बढेकाले सम्भावित लुटपाट, चोरी, डकैटी रोक्न गर्दै स्थानीयले दिउँसो चनाखो हुने तथा रातभर युवा दस्ता बनाएर गस्ती गर्ने गरेका छन्।

दधिकोट क्षेत्रबाट २०–२५ जना अपरिचित व्यक्ति हतियारसहित सिरुटार छिरेको जानकारी आएपछि युवाहरू आफ्नो गाउँको सुरक्षाका लागि रातभरि गस्ती सुरु गरेका छन्। प्रहरी आफैले गस्ती गर्ने अवस्था नआएसम्म युवाले गस्ती जारी राख्ने स्थानीय अमित राउतले बताए। 

सिपाडोलमा वडा तहबाटै सुरक्षा समन्वय समिति गठन गरेर गस्ती सुरु गरिएको छ । स्थानीयस्तरमा बढ्दो आपराधिक गतिविधि रोक्दै शान्ति सुरक्षा कायम गर्न वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकतत्वमा प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक रमेश पाल सदस्य सचिव रहनेगरी ३३ सदस्यीय सुरक्षा समन्वय समिति गठन गरेको छ। 

समन्वय समितिले स्थानीयस्तरमा आपराधिक गतिविधि नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिए। सूर्यविनायक–७ गुण्डुमा पनि स्थानीयले गस्ती सुरु गरेका छन्। दिउँसो अपरिचित व्यक्तिको झुण्ड गाउँगाउँमा घुमेको देखिएपछि टोलटोलमा स्थानीयले गस्ती सुरु गरेका हुन । आज राति नयाँ मानिसको झुण्ड गाउँमा पसेपछि गुण्डुवासीले केहीलाई समातेको र केहीलाई भगाएको स्थानीयले जानकारी दिएका छन्।

प्रहरी सहज रूपमा बाहिर आएर गस्ती गर्न सक्ने अवस्था नभएपछि स्थानीय आफँैले गस्ती गर्न सुरु गरेको भन्दै दिउँसो पनि आफ्नो घर र गाउँमा सुरक्षित रहँदै चनाखो हुन जनप्रतिनिधिले आह्वान गरेको स्थानीय अमित राउतले बताए। चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा पनि तीन दिनदेखि रातभरि गस्ती गर्ने गरेको वडाध्यक्ष सोम प्रधानले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad