कोटेश्वरकी रोजिना जंगमलाई जेनजी आन्दोलनको दोस्रो दिन बाहिर ननिस्की नहुने भयो। दिदीलाई सन्चो नभएकोले रोजिना दिदीको घरतर्फ लागिन्। दिउँसोको करिब साढे २ बजेको थियो। बाहिर निस्कँदा आन्दोलनकारीको भिडले बाटो पाउन मुस्किल थियो।
कोटेश्वर चोकमा रोजिनाले जे देखिन्, त्यो आफ्नो जीवनकालमा देख्नुपर्ला भन्ने उनले कहिल्यै सोचेकी थिइनन्। त्यो दृश्य सम्झिँदा अहिले पनि उनको मुटु काँप्छ। त्यसयता उनी सातो गएजस्तै भएकी छन्।
कोटेश्वरको ट्राफिक प्रहरी कार्यालय र कोटेश्वर प्रभाग जलेर धुवाँको मुस्लो उडिरहेको थियो। त्यो ठाउँ एउटा रणभूमिमा परिणत भएको थियो।
आन्दोलनकारीहरूले कार्यालयमा आगो लगाइसकेपछि प्रहरीहरूलाई निशाना बनाए। प्रहरीहरू डराएर भाग्दै थिए। यही क्रममा दुई जना प्रहरी छतबाट हाम फालेर भागे। तर, भागिरहेका सहायक हवल्दार अमृत गुरुङलाई भने आन्दोलनकारीले समातेर घिसार्दै प्रहरी प्रभागबाहिर ल्याए।
बाहिर ल्याइसकेपछि पनि गुरुङ अझै भाग्न खोज्दै थिए। तर, आन्दोलनकारीहरूले उनका शरीरका सबै लुगा खोलेर च्यातिदिए। नांगेझार बनाए।
निकै आत्तिएका थिए गुरुङ। नांगै भइसकेपछि पनि हात छुटाएर भाग्नै लागेका गुरुङको ढाडमा धारिलो हतियार प्रहार भयो। उनी मुर्छा परे।
बेहोस भइसकेपछि पनि अमृतलाई कुट्न छाडिएन। मास्क र क्याप लगाएका ६-७ जना केटाहरू उनलाई कुटिरहेका थिए। अनि सयौँ मान्छे त्यहाँ बसेर त्यस मानताविहीन कृत्यको तमासा हेरिरहेका थिए।
अलि परपर बसेर केही भने आफ्नो टिकटक र युट्युबमा भिडिओ हाल्न व्यस्त थिए। कोही ‘यस्तो भयो र उस्तो भयो’ भन्दै दृश्यको वर्णन गर्न व्यस्त थिए। कोही भने ‘हिजो जेनजीलाई मार्ने यिनै पुलिस हुन्’ भन्दै भिडलाई थप उत्तेजित बनाउँदै थिए।
'भुइँमा ढलेपछि पनि उनलाई छाडिएन। उठाएर फेरि कुटिन्थ्यो, पछारिन्थ्यो। यही क्रममा प्रहरीको गलाको छेउमा धारिलो हतियार प्रहार भयो र उनी रक्ताम्य भएर भुइँमा फेरि पछारिए,' रोजिनाले सुनाइन्।

यो दृश्यको भने भिडिओ बनाउनुपर्छ र अपराधीलाई समाउनुपर्छ भनेर रोजिनाले मोबाइल झिकिन्।
‘भिडिओ खिच्न थालेपछि त्यही अराजक समूहले मेरो मोबाइल खोसिदियो। कपाल लुछेर भुइँमा लडायो। त्यसपछि मेरो पनि होस हरायो,’ उनी भन्छिन्।
त्यो भिडिओ खिचिएको मोबाइल अहिलेसम्म नपाएको उनको गुनासो छ।
केही क्षणपछि एकजनाले उठाएपछि आफू होसमा आएको उनी बताउँछिन्।
‘नानी, तपाईँ यहाँबाट जानुहोस्, जे पनि गर्न सक्छन् यिनिहरूले’ भन्दै कसैले बाटो देखाइदियो। त्यसपछि रोजिना थिलथिलो ज्यान लिएर बासस्थानतर्फ गइन्।
रोजिना सामुदायिक प्रहरीको आजीवन सदस्य पनि हुन्।
रोजिना कोटेश्वरको त्यो आन्दोलनबाट त फर्किइन् तर ती दर्दनाक दृश्य अनि डर उनको मनबाट जानै सकेको छैन।
‘आज पनि त्यो सम्झँदा आङ नै सिरिंग हुन्छ,’ उनी भन्छिन्, ‘प्रहरी पनि कसैको छोरा हो। कसैको भाइ हो, दाइ हो, श्रीमान् हो, बाबु हो। हामी किन र कसरी यो हदसम्म क्रूर बन्न पुग्यौँ?’
मारिएका प्रहरी सहायक हवल्दार गुरुङ त्यही कोटेश्वरको प्रहरी प्रभागमा कार्यरत थिए। गुरुङले ९ महिनाअघि मात्र आमा गुमाएका थिए। घरमा ‘बाबा’ भन्न पनि नसक्ने सानो दूधे बच्चा छन्। ती अबोध बालकले आफ्नो बुवाको माया कस्तो हुन्छ भन्ने थाहा नपाउने अवस्था बनेको छ।
लाऊँलाऊँ र खाऊँखाऊँ उमेरकी श्रीमतीले आफ्नो श्रीमान् गुमाएकी छिन्। ६० वर्षका बुवा जवान छोरा मारिएपछि बेसहारा भएका छन्। आखिर परिवारको एक मात्र सहारा थिए अमृत।
Shares

प्रतिक्रिया