समाज


हराउँदै पिङ हाल्ने परम्परा

हराउँदै पिङ हाल्ने परम्परा

नेपालखबर
असोज १५, २०८२ बुधबार २१:५९, डुम्रे (तनहुँ)

दसैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति हो। पिङ नेपालीको संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिन्छ। तर, समयको परिवर्तन, आधुनिकीकरण र युवा पुस्ताको प्रवास बसाईले यो परम्परा क्रमशः लोप हुँदै गएको छ।

लोपोन्मुख अवस्थामा पुगेकाले स्थानीय युवाले पिङ संरक्षणमा सक्रिय भूमिका खेल्दै यस परम्परालाई निरन्तरता दिएको भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताए। 

उनले भने, ‘पिङ बिना गाउँमा दसैँ जस्तो लाग्दैन। लोप हुन नदिन समुदायबाट बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो।’ क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ।

यस्तै, बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले मौलिक संस्कृतिको संरक्षणका लागि पिङ बनाउने परम्परालाई निरन्तरता दिइएको बताए। खर्च जुटाएरै भए पनि परम्परालाई निरन्तरता दिँदै आएको उनको भनाइ छ। 

स्थानीय बुढापाकाको अनुभव अनुसार केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने पिङ अहिले हराउँदै गएको छ। व्यास–७ कलेस्तीका प्रदीप घिमिरेले दसैँ र तिहारमा पिङमा मच्चिने रमाइलो परम्परा अहिले लोप हुँदै गएको बताए। 

उनले भने, ‘गाउँघरमा नै चर्के पिङ, रोटे पिङ, लिङे पिङ देखिँदैनन्। हाम्रा परम्परालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ। संरक्षण गर्न सकिएन भने पछिल्ला पुस्ताका लागि पिङ कथा जस्तै लाग्नेछन्।’

पिङ निर्माणका लागि बलियो सालको काठ आवश्यक पर्छ। त्यसका लागि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ। जनशक्ति र सीपको कमी, प्रविधिको विकास र आधुनिक मनोरञ्जनका विकल्पले गर्दा पनि पिङ लोप हुने खतरा बढ्दै गएको छ।

पिङ वर्षौ पुरानो र जीर्ण अवस्थामा पुग्न लागेकाले संयमित भएर खेल्न र खेलाउन आग्रह गरिएको चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले बताए। उनका अनुसार मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी खेल्न तथा खेलाउन पूर्ण रुपमा रोक लगाइएको छ।

उनले भने, ‘हर्षोल्लासका साथ दसैँ, तिहार मनाउन राखिएको पिङको पनि संरक्षण गर्दै सम्भावित दुर्घटनालाई न्यूनीकरणमा समेत आफैँ सचेत हुनुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad