समाज


बाढीले रौतहटमा ४१२ परिवार विस्थापित

बाढीले रौतहटमा ४१२ परिवार विस्थापित

नेपालखबर
असोज २०, २०८२ सोमबार १६:५९, काठमाडौँ

गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ। सदरमुकाम गौर हालसम्म जलमग्न छ। पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढी पसेपछि गौर जलमग्न भएको हो।

बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए। सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन्। उक्त क्षेत्रमा एक हजारभन्दा बढी घरभित्र बाढी पसेको थियो। झाझखोला र बागमती नदीको बीचमा रहेको सो गाउँपालिकाको वडा नं ४ पचरुखी र वडा नं ५ बर्डहवा बढी प्रभावित भएका छन्। बाढीले धान बाली नष्ट गरेको छ।

गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा बाढीबाट ८९ परिवार विस्थापित भएका प्रहरी उपरीक्षक गिरीले बताए। सबैभन्दा बढी वडा नं ८ र ९ प्रभाबित बनेका छन् । बाढीले गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधव नारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई गाउँपालिमा बढी क्षति पुगेको छ।

सडक अवरुद्ध

बाढीले रौतहटभित्रका ठूला सडकसमेत अवरुद्ध भएका छन्। गौर भन्सारदेखि बिपीचोकसम्म सडकमा पानी जमेको छ। बाढीले मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ। भारी वर्षासँगै आएको बाढीले कालोपत्र सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए।

सरकारी कार्यालय डुबानमा

बाढीकै कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन्। बागमती नदी र बकैया नदीको विभिन्न स्थानबाट बाढी पसेपछि उक्त क्षेत्र डुबानमा परेको हो।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन प्राप्त भएपनि सेवाग्राही आउने अवस्था नरहेको बताए। बाढीले जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायत कार्यालय डुबानमा परेका छन्।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नं हेड क्वाटर हजमनियाको कार्यालय पनि पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए। लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवाको बिओपीका कार्यालयसमेत डुबानमा परेका छन्। रौतहटमा नदीमा डुबेर एक जना तथा चट्याङमा परी तीन जनाले ज्यान गुमाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad